चलचित्र ‘लोकन्ती’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही मंसिर २६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘लोकन्ती’को ट्रेलर सार्वजनिक गरिएको छ ।

रञ्जित रानाको निर्देशनमा बनेको चलचित्रको बुधबार काठमाडौँमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रका सम्पूर्ण प्रमुख कलाकारलाई अटाइएको ट्रेलरमा कमेडी र पारिवारिक कथालाई उठान गरिएको छ ।

कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा एसराज गराच (सुरज), ऋचा थापा, विमला लिम्बू, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती लगायतको अभिनय रहेको छ ।

सन्तोष न्यौपाने निर्माता रहेको चलचित्रको कथा काजी लिम्बूले लेखेका हुन् ।

यस चलचित्रमा विकास चौधरीको संगीत, रोनिश तामाङ च्याङ्बाको छायांकन तथा गौतमराज खड्काको सम्पादन छ ।