चलचित्र सेन्सरमा देखिएका चुनौतीहरूमा आएका सुझाव राष्ट्रियसभामा पठाइँदै
काठमाडौं । चलचित्र सेन्सर प्रक्रियामा देखिएका व्यवहारिक चुनौतीहरूका आएका सुझाव सञ्चार मन्त्रालयमा पठाइने भएको छ । सरकारी अधिकारीको उपस्थितिमा भएको चलचित्रकर्मीहरूको छलफलबाट आएका सुझाव विभागीय मन्त्रालयमा पठाइने भएको हो ।
चलचित्रकर्मीहरूको छलफलका क्रममा चलचित्र सेन्सर प्रक्रियामा देखिएका व्यवहारिक चुनौतीहरू, स्पष्ट र पारदर्शी कार्यविधिको आवश्यकता, चलचित्रमैत्री समाधानका उपायहरूबारे गहन र रचनात्मक विचार–विमर्श भएको र यसक्रममा आएका सुझाव मन्त्रालयमा पठाइने भएको हो ।
कार्यक्रमबाट प्राप्त भएका सुझावहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नीतिगत सुधारका लागि अध्ययन गरी आवश्यक कार्यविधि संशोधन गर्ने तथा ऐनमा समावेश गर्नुपर्ने विषयहरूलाई राष्ट्रिय सभामा सुझावका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त भएको चलचित्र विकास बोर्डले जनाएको छ ।
यस पहलले चलचित्र सेन्सर प्रणालीलाई समयानुकूल, सहज र चलचित्रमैत्री बनाउँदै नेपाली चलचित्र उद्योगको दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
छलफलमा दीपकराज गिरी, प्रकाश सुवेदी, सुवास काफ्ले, कृषा चौलागाईं, सरोज न्यौपाने, विकास सुवेदी, करण श्रेष्ठ, दीपक प्रसाद आचार्य, क्षितिज सुवेदी, रत्न श्रेष्ठ, राज बहादुर साने, पुरुषोत्तम प्रधान, सागर लामिछाने, राज श्रेष्ठ, शिवम अधिकारी जनक खड्कालगायत सहभागी भएका थिए । यसैगरी चलचित्र सेन्सर बोर्डका प्रमुख उदय राना मगर, चलचित्र विकास बोर्डका सदस्य सचिव राजेश कुमार थापा, तथा बोर्ड सदस्यहरू लोकनाथ सुवेदी र ममता बास्तोलाको सहभागिता रहेको थियो ।



