फागुन १५ मा आउँदै राजेश हमाल अभिनित ‘प्रवासी जीवन’
काठमाडौं । अभिनेता राजेश हमाल अभिनित नयाँ चलचित्र ‘प्रवासी जीवन’ को प्रदर्शन मिति तय भएको छ । अमेरिकामा छायाङ्कन गरिएको सिनेमा आगामी फागुन १५ गतेदेखि नेपालभर प्रदर्शनमा आउने भएको हो ।
श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेको यो चलचित्रले नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा भन्ने छ ।
निर्देशक मध्येका एक श्याम क्षेत्रीले प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर यो सिनेमा तयार गरिएको बताए ।
‘प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ,’ उनले भने, ‘हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रुपमा भोहिरहेको यातनालाई वे–वास्ता गर्ने गरेका छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ ।’
मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने उनले बताए ।
‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’को सहकार्यसमेत रहेको यस चलचित्रमा अभिनेता हमालका अलावा सरिता लामिछाने, बुद्धी तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्री महत्वपूर्ण भूमिकामा रहेका छन् ।
निर्माणपक्षका अनुसार यस चलचित्रमा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ ।
‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ जस्ता फिचर तथा छोटा फिल्म निर्माण गरेका रविन आचार्य निर्माता रहेको उक्त फिल्मको विषयवस्तुले नै कलाकारलाई आकर्षित गरेको हो ।
कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेको यो चलचित्रमा अमृत बिसुवाको छायाङ्कन, राम अधिकारीको सम्पादन छ ।



