चलचित्र ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन् । पोस्टरले चलचित्रको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गरेको छ ।

सौम्य र क्लासिक लुकमा रहेको पोस्टरमा प्रेम, पवित्रता र सरलताको सङ्केतको रूपमा सेतो टोनको पृष्ठभूमि प्रयोग गरिएको छ । पृष्ठभूमिमा प्रेमको तरङ्ग बुझाउने वेभहरू प्रयोग गरिएको छ । अभिषेक र आकृतिको हाँसो र एक अर्काप्रति देखिएको आत्मीयताले कथावस्तु शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ । यस पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन् ।

पोस्टर सार्वजनिकसँगै चलचित्रको नयाँ गीत ‘तिमी बिना’ को रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार उक्त गीत पुस ३ गते डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ ।

दिनेश राउत निर्देशित यो चलचित्र भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले चलचित्रले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ । चलचित्रमा नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । कार्यकारी निर्माता केदार भुसाल हुन् । कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन् ।

सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ । डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको यस चलचित्रको काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन् ।