प्रदीपले कारागारमै पुगेर किन भेटे रविलाई ? भन्छन्- देश जोगाउनुपर्ने अवस्था आए राजनीतिमा आउन सक्छु
काठमाडौं । अभिनेता प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै पुगेर भेट गरेका छन् ।
खड्काका अनुसार सभापति लामिछानेले सम्झिएपछि उनी भेट्न गएका हुन् । भेटमा उनीहरूबीच समसामयिक राजनीति र देशको स्थितिबारे छलफल भएको थियो ।
लामिछानेले सम्झिएपछि आफू भेट्न गएको बताएका उनले मंगलबार नख्खु कारागार पुगी करिब ४५ मिनेट लामो संवाद गरेको बताएका छन् ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेता खड्काले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले देश जोगाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भए आफू राजनीतिमा होमिन समेत तयार रहेको बताएका छन् ।
आफू कुनै चलचित्रको प्रचारबाजीका लागि नभई एउटा सजग नागरिकको हैसियतले विधिको शासनको पक्षमा उभिन आएको उनले स्पष्ट पारे । ‘भोलि मैले पनि गल्ती गरेँ भने मलाई कानुन बमोजिम सजाय हुनुपर्छ, फोन गरेर छुटाउने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ खड्काले भने ।
लामिछानेले खुलेरै रास्वपामा प्रवेश गर्न आग्रह गर्दा उनले आठ दश वर्ष सिनेमामै काम गर्ने जवाफ दिएको समेत बताए । साथै, प्रदीपले के सही र के गलत छुट्याउन सक्ने क्षमता रहेको बताएका छन् ।
वर्तमान सरकारको तीन महिनाको कार्यशैलीप्रति खड्काले असन्तुष्टि पोखे । नयाँ सरकार गठनपछि न्याय र सुशासनको अपेक्षा गरिए पनि अवस्था उस्तै रहेको उनको टिप्पणी थियो ।
उनले भने, ‘विगत तीन महिनाको घटनाक्रम हेर्दा किन काम भइरहेको छैन भन्ने प्रश्न उब्जिएको छ । एउटा व्यक्ति (रवि लामिछाने) माथि सरकारले कुदृष्टि राखेको भान जनतालाई परेको छ । अहिलेको घटनाक्रमले नै मलाई नख्खुसम्म तानेको हो ।’
अभिनेता खड्काले वैकल्पिक राजनीतिक शक्तिहरूलाई फुटेर नभई जुटेर अघि बढ्न सुझाव दिए । विचार नमिल्ने पुराना पार्टीहरू त सत्ताका लागि मिल्न सक्छन् भने उस्तै उद्देश्य बोकेका नयाँ शक्तिहरू किन मिल्न नसक्ने भन्दै उनले प्रश्न गरे ।
‘नयाँ पार्टीहरूले एक अर्काको भोट काट्ने काम मात्र गर्नुहुँदैन । बालेन जी, हर्क जी लगायतका नयाँ शक्तिहरू मिल्नुको विकल्प छैन,’ उनले भने, ‘यदि उहाँहरूलाई मिल्न गाह्रो भएको हो भने म आफैँ गएर रिक्वेस्ट (मध्यस्थता) गर्न पनि तयार छु ।’
कलाकारलाई ‘राष्ट्रको गहना’ भन्ने भनाइप्रति टिप्पणी गर्दै खड्काले देशको अवस्था बिग्रिएको बेला यस्तो उपमाको अर्थ नरहने बताए ।
उनले भने, ‘गहना तब सुहाउँछ, जब अनुहार चिटिक्क परेको हुन्छ । बासी मुख नधोएको जस्तो कुरुप अवस्थामा गहना भएर केही अर्थ छैन । देशको मुहार फेरियो भने मात्र हामी गहना भएको सार्थकता हुन्छ ।’
सक्षम युवाहरू आफ्नो स्वार्थमा मात्र केन्द्रित हुँदा देशको अवस्था बिग्रिएको उनको निष्कर्ष थियो ।
भविष्यमा राजनीतिमा आउने संकेत
सञ्चारकर्मीको जिज्ञासामा उनले तत्काल आफ्नो ध्यान चलचित्र क्षेत्रमै भए पनि भविष्यमा अवस्था हेरेर निर्णय लिने बताए ।
‘म अहिले चलचित्र क्षेत्रमै रमाइरहेको छु । तर, फिल्म क्षेत्र मात्र होइन, देश नै जोगाउनुपर्ने अवस्था आयो भने म मात्र होइन, तपाईंहरू सबै आउनुपर्छ,’ उनले भने ।



