चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं । प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक गरिएको छ । केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ । शब्द सुमन तामाङको रहेको छ भने संगीत सुमन र केहरको रहेको छ ।

युवा जोडी आकृति राजभण्डारी र अबिषेक खड्काबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण मुडले गीतलाई अझ जीवन्त र प्रभावशाली बनाएको छ ।

माघ २३ गते रिलिज हुने सिनेमालाई दिनेश राउतले निर्देशन गरेका छन् । यो चलचित्र भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले चलचित्रले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ। चलचित्रमा नयाँ अनुहारहरू अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् ।

घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।

चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । कार्यकारी निर्माता केदार भुसाल हुन् । कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् । छायांकन निर्देशन सुसन प्रजापतिले गरेका छन् ।

सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ । डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको यस चलचित्रको काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन् ।