श्रीमान् माओवादी र श्रीमती रास्वपा, यत्तिको वैचारिकता चाहिँ हुनुपर्छ है !

काठमाडौं । तपाईंले ‘तिमीलाई हङकङ पुर्‍यायो आइडी काडैले’ गीत सुन्नु भएको छ ?, छैन । ‘ढडिया थापिदेऊ’ गीत सुन्नु भएको छ ? छैन । त्यसो भए ‘तिमी म सँग नबोल्ने अरे’ त पक्कै सुन्नु भएको छ होला ।

हो यो गीतकी गायिका हुन्, सत्यकला राई । अब सत्यकला राई पनि राजनीतिमा खुलेरै लागेकी छन् । उनी राजनीतिमा लागेकी मात्रै छैनन् । सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा पनि समावेश भएकी छन् । सत्यकला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् ।

खोटाङबाट उनको नाम आदिवासी जनजाति सूचीमा सिफारिस भएको छ । उनले सांसद भएर काम गर्ने इच्छा रहेको पनि बताएकी छन् । अब राजनीतिमा लागेपछि सांसद तथा मन्त्री हुने रहर त हुने नै भयो । स्वभाविक पनि हो ।

सबैभन्दा रोचक पक्ष चाहिँ के छ भने उनी नायक तथा निर्देशक नवल खड्काकी श्रीमती हुन् । यहाँ सत्यकला नवलकी श्रीमती हुनुलाई रोचक भनिएको भने होइन, रोचक त अर्कै कुरा छ । त्यो हो श्रीमान् एउटा पार्टीमा श्रीमती अर्कै पार्टीमा ।

हो, सत्यकलाले रास्वपाबाट राजनीतिमा आफ्नो करियर बनाउने प्रयास गरिरहँदा नवल भने तत्कालीन नेकपा माओवादीमा थिए । उनी खुलेरै माओवादीबाट राजनीति गर्ने नायक हुन् । भोट मागेरै हिँड्ने कलाकार हुन् ।

नवल पार्टीका विभिन्न कमिटीमा रहेर काम गरेका कलाकार हुन् । त्यसो त श्रीमान् एउटा पार्टीबाट श्रीमती अर्कै पार्टीमा रहेर काम गर्नु नै ठूलो आश्चर्य भने होइन । श्रीमान्–श्रीमती, बाबु–छोरा, दाजु–भाइ बेग्लाबेग्लै पार्टीबाट राजनीति गरेका थुप्रै उदाहरण छन् ।

तर, कलाकारिता गर्ने जो राजनीतिमा छन्, उनीहरूका श्रीमान् र श्रीमती बेग्लाबेग्लै पार्टीमा रहेको चाहिँ नवल र सत्यकलाको पहिलो जोडी हुन सक्छ ।

अब जे होस्, एउटै पार्टीमा रहँदा एकै घरका दुईजनाले अवसर पाइँदैन भनेर छुट्टाछुट्टै पार्टी रोजेको हो भने त यो अवसरबादको पराकाष्टा नै हो । ‘दाह कहाँ पोखियो भागमा’ भन्ने सोचले हो भने यो हदैसम्मको अवसरबाद हो ।

तर, होइन पार्टीको विचार र सिद्धान्त नै मन परेर हो भने यत्तिको स्वतन्तत्रा, स्पष्टता र वैचारिक निष्टालाई सलाम गर्नैपर्छ । सलामसँगै शुभकामना !