चलचित्रका लागि कलाकार खोज्दै आइसफल प्रडक्सन

काठमाडौं । ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘रेडसुटकेश’जस्ता फिल्म निर्माण गरेको आइसफल प्रडक्सनले आफूले निर्माण गर्न लागेको चलचित्रका लागि कलाकार चाहिएको सूचना जारी गरेको छ ।

निर्माता तथा आइसफल प्रडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताएका छन् ।

“प्रडक्सनले २०२६ मा फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्म निर्माणलाई पनि गति दिने योजना बनाएको छ । यसैका लागि हामीले अडिसन कल गरेका हौँ,” पोखरेलले भने, “अडिसनबाट आएका प्रतिभालाई दुवै पक्षको समझदारीअनुसार काम गराउने योजना छ ।”

विदेशीका फिचर फिल्म, डकुमेन्ट्री र विज्ञापनका लागि लाइन प्रोड्युसरको काम गर्दै आएको आइसफल प्रडक्सनले निर्माण गरेका चलचित्रहरु विश्वका प्रतिष्ठित फेस्टिभलमा छनौट एवं पुरस्कृत भएका छन् ।

अडिसन कलमा आइसफलले मुख्य भूमिकादेखि सहायक भूमिकासम्मका लागि कलाकारको अडिसन लिइने जनाएको छ । यसका लागि जुनसुकै लिङ्ग, उमेर र जात समूहका कलाकारले पनि आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि आफ्नो परिचयात्मक भिडियो [email protected]मा पठाउनु पर्ने निर्माता पोखरेलले जानकारी गराएका छन् ।