‘झरीपछिको इन्द्रेणी’लाई दर्शकको साथ तर शोको अभाव, निर्देशक घिमिरे आक्रोशित
काठमाडौं । पुस ४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि हलमा पर्याप्त शो नपाएको भन्दै निर्माण पक्षले चिन्ता व्यक्त गरेको छ ।
विशेषगरी ‘अवतार’ र ‘धुरन्धर’ जस्ता विदेशी चलचित्रको चेपुवामा नेपाली सिनेमा परेको देखिएको छ । यो चलचित्रलाई देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मंगलबारलाई काठमाडौं उपत्यकामा जम्मा ८ शो र मोफसलमा ५ उपल्बध गराएको छ ।
सुरुवाती चरणमा यो सिनेमालाई क्युएफएक्स सिनेमाजले काठमाडौं उपत्यकामा ११ शो र मोफसलमा ११ शोसहित २२ शो दिएको थियो ।
मंगलबारलाई बिग मुभिजले ३ शो दिएको छ । देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआई, अन्य मल्टिप्लेक्स हलहरू एफक्युब सिनेमा लगायतले न्यून शो दिएका छन् ।
बुधबारका लागि क्युएफएक्स सिनेमाजले काठमाडौं उपत्यकामा ५ शो उपल्बध गराएको छ भने मोफसलमा पनि ५ शो दिएको छ । अन्य मल्टिप्लेक्स हलहरूले न्यून शो दिएका छन् ।
यसरी आफ्नो फिल्मले हलमा उचित स्थान नपाएपछि निर्देशक अर्जुन घिमिरेले मिडियाकर्मीमाझ आक्रोश पोखेका छन् । के नेपाली हलमा नेपाली फिल्मले सधैँ विदेशी फिल्मकै जुठो शोमा चित्त बुझाउनुपर्ने हो ? भन्ने उनको भनाइ छ ।
दर्शकसँग साक्षात्कार गर्न हल हल पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “नेपालीपनलाई माया गरौँ भन्ने कुरा केवल भाषणमा मात्र सीमित भयो । हामीले फिल्मलाई हरेक कोणबाट सबल बनाएका छौँ, तर स्टारकास्ट नभएकै आधारमा उपेक्षा गरियो ।”
“दर्शक हुँदाहुँदै पनि शो नदिनु आश्चर्यजनक छ,” उनले भने, “यसले सधैँ नेपाली मौलिक फिल्म बनाउने मेकरहरू मारमा परिरहेका छन् ।”
निर्देशक घिमिरेले वितरक र प्रदर्शकहरूको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । फिल्म प्रदर्शनको समयमा वितरकहरू सम्पर्कविहीन हुने गरेको र प्रदर्शकहरूले व्यावसायिक स्वार्थका लागि नेपाली फिल्मलाई पाखा लगाएको उनको आरोप छ ।
“वितरकलाई त मैले फिल्म चल्नुभन्दा एक दिन अगाडि र पछाडि बाहेक देखेको छैन । फिल्म चलेपछि उहाँहरूको भूमिका कहाँ हराउँछ ?,” निर्देशक घिमिरेले भने ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ मा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी)को अभिनय छ ।
यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् ।
निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवाद गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् ।
अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।



