दर्शकसँग प्रत्यक्ष जोडिन ‘कुमारी’को कन्सर्ट आयोजना

काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ को प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ ।

माघ २३ गते रिलिज हुने चलचित्रको रिलिज मिति नजिकिँदै जाँदा निर्माण टिमले सङ्गीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिन कन्सर्ट अघि सारेको हो ।

कन्सर्ट शृङ्खला अन्तर्गत आगामी माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा कन्सर्ट आयोजना हुने टिमले बताएको छ ।

यस कन्सर्टमा चलचित्रका प्लेब्याक गायक केहरसिं लिम्बु र उनको चर्चित ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले लाइभ प्रस्तुति दिनेछन् । युवापुस्तामाझ लोकप्रिय केहर र उनको ब्यान्डको उपस्थितिले कन्सर्टप्रति दर्शकको उत्साह रहने अपेक्षा निर्माण टिमले गरेको छ ।

चलचित्रका यसअघि सार्वजनिक भएका ‘कता छौ…’ र ‘तिमी बिना…’ गीतहरू दर्शकमाझ चर्चामा छन् । सबै गीतमा केहरसिं लिम्बुको स्वर रहेको छ ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेम को सहकार्यमा बनेको यस चलचित्रमा नयाँ अनुहार अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् । साथै चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायत कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन् । कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् ।

सुसन प्रजापति छायाकार रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्नेछ ।