‘मुगलान’को अवस्था बन्यो दयनीय, एकैजना दर्शक पनि देखिएन क्यूएफएक्सको शोमा

काठमाडौं । चलचित्र ‘मुगलान’को अवस्था हलमा निकै दयनीय देखिएको छ । बिहीबारबाट प्रदर्शनमा आएको यो सिनेमाले दर्शकको खडेरी बेहोरिरहेको छ ।

दर्शकको खडेरी यस्तै रहने हो भने यो सिनेमा सप्ताहन्तसम्म पनि टिक्ने सम्भावना निकै न्यून छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंका हलमा जम्मा तीनवटा शो दिएको थियो । उक्त तीन शोमा पनि दर्शकको संख्या उल्लेख्य नदेखिएपछि आज क्यूएफएक्सले काठमाडौंमा शो घटाएर एउटामा झारिदिएको छ ।

सिटी स्क्वायर मलमा बिहान ११:४५ को शोमा बिहान १० बजेसम्म एउटा पनि टिकट बिक्री भएको छ । क्यूएफएक्ले आज देशभरका आफ्ना हलमा पाँचवटा शो दिएको छ । सबै हलमा आज यो सिनेमाले ३९ शो पाएको छ ।

आशिष ढकालको लेखन तथा निर्देशन रहेको चलचित्र बिदाको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको हो । यो सिनेमा ‘धुरन्धर’ र ‘अवतार’को चेपुवामा परेको छ । तर, दर्शकको यो स्तको खडेरी देखिँदा सिनेमा नै कमजोर हो वा निर्माणपक्षले प्रचार गर्न सकेन यसको समीक्षा स्वयं निर्माताले गर्नुपर्ने भएको छ ।

‘मुगलान’ले युवाको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गरेको निर्माणपक्षले बताएको छ ।

‘मुगलान’मा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालको मुख्य भूमिका रहेको छ । उनीहरुसँग श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खबपु, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सविन बास्तोलालगायत कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रका निर्माता गोमन सिंह रहेका छन् । सहनिर्मातामा रीता चौधरीले लगानी गरेकी छन् । तारा थापा ‘किम्भे’को सम्पादन, जय विष्ट र राम गुरुको द्वन्द्व निर्देशन रहेको यो सिनेमामा बीजीएम रिदम कँडेलको छ । डीओपी अजय रेग्मीको छ ।