‘कल्ली’को टिजरमा मानिसभित्र रहने देवता र राक्षसको कथा
काठमाडौं । चलचित्र ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा मानिसभित्र रहने देवता र राक्षसको कथा छ ।
‘कल्ली’ले भगवान् र राक्षसको कथा प्रस्तुत गरेको छ । चलचित्रले मानिसभित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ ।
मानिसको मनमा हुने देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोक्छ । राक्षसले लोभ, लालच र मोहको भाव बोक्छ । मानिसले आफ्नो मनभित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितिको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ ।
किरण नेपालीको निर्माणमा तयार भएको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् । फागुनको १ गतेबाट रिलिजमा आउने चलचित्रको कथा पनि सुनारकै छ । कथा लेखन भने महेश दवाडीको छ ।
चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, परीक्षा लिम्बु, अर्जुन गुरुङलगायत लाकारको अभिनय छ ।
निसाल पौडेलको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको यो फिल्ममा एनबी महर्जनको एक्सन छ । सुरज आचार्य फिल्मका निर्माण प्रमुख हुन् ।



