ब्लकबस्टर निर्देशक सरोजलाई ‘सिन्दुरे जात्रा’मा छैन विकल्प

काठमाडौं । ब्लकबस्टर निर्देशक सरोज पौडेलले अब चलचित्र ‘सिन्दुरे जात्रा’ बनाउने घोषणा गरिसकेका छन् ।

टाइटल अनाउन्समेन्ट टिजरमार्फत चलचित्र निर्माणको घोषणा गरेका निर्देशक पौडेलले यो सिनेमामा को–को कलाकार रहनेछन् भन्ने केही बताएका छैनन् ।

यो चलचित्र अहिले प्रि–प्रोडक्सनमा छ । निर्देशक पौडेलले केही समयपछि कलाकारका बारेमा जानकारी गराउने बताएका छन् ।

यो सिनेमालाई उम्दा बनाउनुको अर्को विकल्प यो टिमसँग छैन । त्यसैले जसरी हुन्छ, राम्रो बनाउन कम्मर कसेर निर्माणपक्ष लागिरहेको छ । यो दबाब निर्देशक पौडेलले त्यतिबेला महसुस गरे जब उनी यसअघिको सिनेमा ‘कोशेढुङ्गा’ सुटिङका लागि गाउँमा पुगे ।

“पूर्ण बहादुरको सारङ्गीको क्रेज त सहरमा के रहेछर गाउँमा त्यसको सयौँ गुणा बढी रहेछ । यो महसुस मैले कोशेढुंगाको छायांकनमा गाउँमा पुग्दा महसुस गरेँ,” निर्देशक पौडेल भन्छन्, “जब म गाउँमा पुगेँ, पूर्ण बहादुरको सारङ्गीको निर्देशक भनेर टाढाटाढाबाट समेत मान्छेहरू भेट्न आउनुहुन्थ्यो ।”

स्थानीय पालिकाहरूले फूलमाला र पञ्चेबाजाले स्वागत गरेको उनी स्मरण गर्छन् । “पूर्ण बहादुरको सारङ्गीको टिम भनेपछि पालिकाहरूले फूमाला र बाजागाजाले स्वागत गरे,” निर्देशक पौडेल भन्छन्, “मेयर र वडाध्ययक्षहरू सुटिङस्थलमै आएर के सहयोग गर्नुपर्छ भनेर सोध्नुहुन्थ्यो ।”

स्थानीय पालिकाहरूले ‘पूर्ण बहादुरको सारङ्गी’को निर्देशकको चलचित्र भनेर सहयोग गर्दा छायांकनमा धेरै सहज भएकाले सुटिङ चाँडै र सहज तरिकाले सकिएको उनले जानकारी दिए ।

दर्शकको अपेक्षालाई सम्बोधन गर्न पनि ‘कोशेढुंगा’लाई उनले स्तरीय बनाउने प्रयास गरे । चलचित्र हेर्ने दर्शकले राम्रो पनि भने । समीक्षा पनि नराम्रो पाएको होइन । सुरुका दिनमा भन्दा विस्तारै दर्शक बढ्दै थिए । कलेक्सन पनि बढ्दै थियो । तर, दुर्भाग्य जेनजी आन्दोलन भयो चलचित्र हलहरू नै बन्द भए । सिनेमा धेरै दर्शकले हेर्न नै पाएनन् ।

‘कोशेढुंगा’ त्यस्तै भयो अथवा भनौँ भाग्यले साथ दिएन । करिब करिब एउटा सिर्जना मर्‍यो । अब सरोजलाई ‘सिन्धुरे जात्रा’ राम्रो बनाएर आफूलाई प्रमाणित गर्नुपर्नेछ । आफू साँच्चै राम्रो निर्देशक रहेको प्रमाणित गरेर देखाउन राम्रो चलचित्र बनाउनुको उनीसँग विकल्प छैन ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको छ । सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् ।

आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्रको रिलिज मितिबारे निर्देशक पौडेलले केही जानकारी दिएका छैनन् ।