‘झरीपछिको इन्द्रेणी’को बक्सअफिस कमाइ अपेक्षाभन्दा कमजोर

काठमाडौं । हाल प्रदर्शनरत नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा अपेक्षाअनुसारको व्यापार गर्न सकेको छैन ।

चलचित्र विकास बोर्डअन्तर्गतको बक्सअफिस प्रणाली सिनेपा बक्सअफिस रिपोर्ट अनुसार चलचित्रले हालसम्म ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

पछिल्लो शनिबार अर्थात् पुस १२ गतेसम्मको तथ्यांकअनुसार सो अवधिमा याे चलचित्रकाे १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन् । प्रचार–प्रसारमा उल्लेख्य चर्चा पाए पनि फिल्मको कमाइ भने कमजोर देखिएको छ ।

अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको यस चलचित्रलाई लिएर प्रदर्शनअघिदेखि नै दर्शकमाझ चासो थियो । विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह स्वयंले फिल्मको प्रचारप्रसार गर्नुका साथै एक गीतमा स्वरसमेत दिएपछि चलचित्र थप चर्चामा आएको थियो ।

र्‍यापर समेत रहेका मेयर शाहले केही दिनअघि याे चलचित्र हेरेर प्रशंसा समेत गरेका थिए ।

पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेल, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय छ । 

‘झरीपछिको इन्द्रेणी’ अहिले देशभरका हलहरूमा प्रदर्शनरत छ ।