रेखा र पूजाको ‘छत्तीसको आँकडा’ चैत्र २७ मा रिलिज हुने

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्माण तथा सबिर श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘छत्तीसको आँकडा’ आगामी चैत्र २७ गते रिलिज हुने भएको छ ।

रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको चलचित्रमा रेखा थापा, पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठी मुख्य भूमिकामा छन् ।

याे चलचित्रले दुई महिला पात्रबीचको तीव्र द्वन्द्वलाई कथाको केन्द्रमा राखेको बताइएको छ, जसले फरक स्वादको कथा प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ ।

यसअघि सार्वजनिक गरिएको फस्टलुक पोस्टरले नै चलचित्रको कथावस्तु र पात्रको मनोविज्ञान झल्काएको थियो । पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा देखिएकी रेखा थापाले पूजा शर्मालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको दृश्य प्रस्तुत गरिएको छ ।

एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रमा रेखा थापाको जोडीका रूपमा महेश त्रिपाठी देखिनेछन् भने पूजा शर्मा र पुष्प खड्का पहिलो पटक पर्दामा जोडीका रूपमा प्रस्तुत हुँदैछन् ।

चलचित्रमा निरुता सिंहको पनि विशेष भूमिका रहेको छ ।

निर्देशक श्रेष्ठ र अभिनेत्री थापाले यसअघि पनि ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’ र ‘कसले चोर्‍यो मेरो मन’ जस्ता सफल चलचित्रमा सहकार्य गरिसकेका छन् ।

रेखा र पूजाले ‘उपहार’पछि पुनः एकसाथ काम गरेका हुन् ।

निर्माण पक्षका अनुसार चलचित्रले सशक्त महिला पात्र, एक्सन र भावनात्मक द्वन्द्वलाई सन्तुलित रूपमा प्रस्तुत गर्नेछ ।

यो चलचित्रलाई देशव्यापी रुपमा आरआर फिल्म्सले वितरण गर्दैछ ।