दीपकले खोले सिनेमाको विषय, कुन पार्टीबाट लड्दैछन् निर्वाचन ?
काठमाडौं । अभिनेता दीपकराज गिरीले आफ्नो आगामी चलचित्रको कथाको विषयवस्तु खोलेका छन् । उनले आउँदो चलचित्र राजनीतिक विषयमा आधारित हुने संकेत गरेका छन् ।
दीपक पनि अब राजनीतिमा होमिने भए भनेर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अड्कलबाजी भइरहेका बेला उनले आफू राजनीतिमा नभएर सिनेमामा नै केन्द्रित हुने प्रष्ट पारेका छन् ।
“…हो, यही फागुन महिनामा नै सुरू हुने अन्यायविरुद्ध नर्वाचनमा होमिएको एक उम्मेदवारको कथा सहित मेरो आफ्नो चलचित्रमा अभिनय गर्दैछु ! म उठ्ने त्यसमै हो,” दीपक फेसबुकमा लेख्छन्, “मैले जानेको पनि यही नै हो । जे जान्दछु गर्ने पनि त्यही नै हो ।”
उनले आफ्नो समर्थन भने रवि, बालेन र कुलमानलाई नै गर्ने प्रष्ट पारेका छन् । उनी लेख्छन्, “जहाँसम्म समर्थनको कुरा छ, यो पल्ट मेरो समर्थन परिवर्तनकारी पक्षतिर नै रहनेछ ।”
उनले अनुमानका भरमा लगाइने आरोप र टिप्पणीप्रति व्यंग्य गरेका छन् । “आखिर म पनि निर्वाचनमा उठ्ने नै भएँ ! तर, कुन पार्टीबाट ? केही साथीहरू भन्छन्, म कांग्रेस नै हो, त्यसैले कांग्रेसबाट नै ट्राई गर्ला, कोही भन्छन् होइन यो त एमालेनिकट हो त्यसैले उताबाट बढी सम्भावना छ,” उनले भनेका छन्, “तर, एमालेका कार्यकर्ताहरूले मलाई बेलाबेलामा यो जेमा नि विरोध मात्रै गर्छ, त्यसैले यो कि त राजाबादी हो कि त माओवादी भन्ने गरेका छन् !”
तर, जेनजी आन्दोलनपछि आफूलाई रास्वपा भएको आरोप लाग्ने गरेको उनले बताएका छन् । “अस्तिको आन्दोलनदेखि त ठोकुवा नै गरिहाले म रास्वपा नै हो भनेर,” दीपक भन्छन्, “अब यस्तो मा म उठ्ने पार्टी कुन होला त ?”



