चलचित्र ‘कुमारी’को नयाँ गीत ‘डोको बुन्ने’मा अभिषेक र आकृतिको नोस्टाल्जिक प्रेम
काठमाडौं । माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रेम कथानक चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ ।
गीतमा गायक केहर सिं लिम्बूको स्वर रहेको छ भने सागर लामिछाने मगर र सुमन तामाङका शब्दहरू समेटिएका छन् । सुमन तामाङ र केहर सिं लिम्बूले नै संगीत भरेको यस गीतलाई रिकेश गुरुङले अडियो प्रोडक्सन तथा मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारीलाई पुराना दिनको शैलीमा प्रस्तुत गरिएको छ ।
यो चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । चलचित्रमा नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । कार्यकारी निर्माता केदार भुसाल हुन् । कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् । छायांकन निर्देशन सुसन प्रजापतिले गरेका छन् ।



