टंक बुढाथोकीले फेरि ल्याउँदै अशोक र एआरको जोडी, घोषणा गरे ‘बा-आमा’
काठमाडौं । चलचित्र ‘मन बिनाको धन’को सफलतापछि गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ चलचित्र ‘बा–आमा’ निर्माण गर्ने भएका छन् ।
आफ्नो डेब्यु चलचित्रबाट बक्स अफिसमा झण्डै ४ करोडको व्यापार गरेर सफल निर्देशक र निर्माताका रूपमा दरिएका टंकले यसपटक पनि आफ्नै चर्चित गीतको शीर्षकमा सिनेमा बनाउन लागेका हुन् ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बन्ने यो चलचित्र ‘बा–आमा’ मा अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन् ।
‘मन बिनाको धन’ बाट डेब्यु कलाकार बालगायक अशोक र एआर ‘बा-आमा’ मा दोहोरिने र अन्य कलाकार छनोटको प्रक्रिया बाँकी रहेको निर्देशक बुढाथोकीले बताए ।
टंक बुढाथोकीकै कथा रहने यो चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् ।
चलचित्र विकास बोर्डमा नाम दर्ता भइसकेको यस सिनेमालाई विष्णुमाया मैनालीले निर्माण गर्दैछिन् ।
यो चलचित्रले नेपाली समाजको पारिवारिक सम्बन्ध र बा-आमाप्रतिको दायित्वलाई उठान गर्ने बुझिएको छ । सबै तयारी सोचेअनुरूप भएमा आगामी वैशाखदेखि फिल्मको क्यामेरा घुम्न सुरु हुने टंकले बताए ।



