रहस्यमयी सौगात, जस्तो पनि सिनेमा गर्ने भन्दै जिस्काउँछन् दर्शक

काठमाडौं । अभिनेता सौगात मल्लले आफूले लगातार काम पाउनुको कारण मेहनत भएको बताएका छन् । आफू बाह्रै मास सिनेमामा व्यस्त हुनुको मुख्य कारण आफ्नो कामप्रतिको मिहिनेत र समर्पण रहेको उनको भनाइ छ ।

“निर्माता तथा निर्देशकहरूले सधैँ मिहनती मान्छे खोजिरहेका हुन्छन्, जसले प्रोजेक्टलाई पूर्णरूपमा आफ्नो ठानोस्,” सौगात भन्छन् । आफूले सधैँ कामलाई पूजा गर्ने उनको भनाइ छ ।

चलचित्र सफल हुनु र असफल हुनुमा भने अभिनेताको मेहनतमा मात्रै भर नपर्ने उनको तर्क छ । तर, उनले आफ्नो तर्फबाट काममा कुनै कसर बाँकी नराख्ने हुनाले निर्माताहरूले आफूलाई बारम्बार पत्याउने बताए ।

उनले ठट्टा गर्दै भने, “यसले पैसा कमाउँदैन भन्ने थाहा हुँदाहुँदै पनि उसैलाई लिनु कस्तो अचम्मको कुरा हो ।”

उनी आफूलाई जस्तो पनि फिल्म खेल्ने भनेर मानिसहरूले जिस्काउने गरेको स्वीकार गर्छन् । आफू काम गर्न रुचाउने र नयाँ स्क्रिप्ट वा पात्रमा केही फरकपन देखेमा काम गर्न नहिचकिचाउने उनको भनाइ छ ।

उनले आफ्नो काम राम्रोसँग गर्ने प्रयास गरिरहने हुनाले नै एकपछि अर्को फिल्मको लगातार प्रस्ताव आइरहने र आफू व्यस्त रहने बताए ।

सौगात आफ्नो व्यावसायिकता र कामप्रतिको इमान्दारितालाई नै आफ्नो निरन्तर व्यस्तताको रहस्य रहेको बताउँछन् ।