पाँडे निर्देशित ‘झरीपछिको इन्द्रेणी’ले अहिलेसम्म कति कमायो ?
काठमाडौं । गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को व्यापार एक करोड रूपैयाँ नाघेको छ ।
चौथो हप्तामा प्रदर्शनरत यो चलचित्रले सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबार (पुस २६) सम्ममा १ करोड माथि कमाइ गरेको हो ।
३५ हजार ८४२ वटा टिकट बिक्री भएको चलचित्रको यो अवधिमा कूल कमाइ १ करोड १२ लाख ३८ हजार ९०४ रूपैयाँ ग्रस कमाइ गरेको छ ।
‘झरीपछिको इन्द्रेणी’ मा र्यापर समेत रहेका काठमाडौं महानगरका मेयर बालेन शाहको गीत समावेश छ । सोहीकारण पनि यो चलचित्र थप चर्चामा थियो ।
चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को मुख्य भूमिकामा गणेश उप्रेती छन् । चलचित्रमा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जनलगायत कलाकारको अभिनय रहनेछ । यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् ।
चलचित्रको एउटा गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिएका छन् । चलचित्रलाई बुद्ध थापाले खिचेका हुन् ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका छन् । चलचित्रमा अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।



