गरिमा शर्माले सार्वजनिक गरिन् प्रेमी, को हुन् ती ‘मिस्ट्री ब्वाई’ ?
काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्माले आफ्नो प्रेम सम्बन्धलाई आधिकारिक रूपमा सार्वजनिक गरेकी छिन् । लामो समयदेखि आफ्नो निजी जीवनलाई गुपचुप राख्दै आएकी गरिमाले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफू ‘रिलेसनसिप’ मा रहेको खुलासा गरेकी थिइन्।
गरिमाले फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै आफ्नो प्रेमको घोषणा गरेकी थिइन्। । उनले पोस्ट गरेको तस्बिरमा एक युवकले आफ्नो हातमा ‘गरिमा’ नामको ट्याटु खोपेको देखिन्थ्यो। तस्बिरसँगै उनले क्याप्सन लेख्दै भनेकी थिइन्, “उसले प्रस्ताव राख्यो र मैले हुन्छ भनेँ । प्रमिस रिङ ।”
गरिमाले सार्वजनिक गरेका तस्बिरहरूमा प्रेमीको अनुहार प्रस्ट नदेखिए पनि उनीहरू निकै निकट देखिन्थे । त्यसको भोलिपल्ट उनले कुनै तालको किनारमा खिचिएको अर्को एक रोमान्टिक तस्बिर पनि साझा गरेकी थिइन्,, जहाँ दुवैको पछाडिको भाग मात्र देखिन्थ्यो ।
उनै गरिमाले आइतबार प्रेमी सार्वजनिक गरेकी छन् । उनले प्रेमीसँगका दुई तस्बिर राख्दै लेखेकी छन्, ‘त्यतिबेला हामी केवल विद्यालयका विद्यार्थी थियौँ। अहिले भने हामी सँगै केही वास्तविक र गम्भीर भविष्य निर्माण गर्दैछौँ। हाइस्कुल लभ!’
गरिमाले आफ्ना प्रेमीमेन्सन नगरी तस्बिर सार्वजनिक गरे पनि आर्टखबर प्राप्त जानकारी अनुसार ती युवक चितवनका अन्जन पौडेल हुन् । अन्जन र गरिमा विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । चितवन स्थायी घर भएका उनीहरू दुवैले रत्ननगरस्थित स्काईराइडर कलेजमा साथै अध्ययन गरेका थिए ।
अन्जन टाँडी निवासी हुन् भने गरिमा भरतपुरकी हुन् । उनीहरू बीचको प्रेम सम्बन्ध कलेज पढ्दैदेखि नै सुरु भएको बताइन्छ । गरिमाका प्रेमी अन्जन हाल अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।
म्युजिक भिडिओबाट लोकप्रियताको शिखर चुमेकी गरिमाले चलचित्र ‘लण्डन टु पेरिस’ मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् ।
लामो समयदेखि उनका प्रशंसकहरूले उनको प्रेम जीवनबारे चासो राख्दै आएका थिए । गरिमाले आधिकारिक रूपमा सम्बन्ध खुलासा गरेपछि उनलाई प्रशंसकहरूले बधाई र शुभकामना दिइरहेका छन् ।



