प्रिमियरमा ‘भाईरल गोर्खे’ले कस्तो पायो प्रतिक्रिया, कसले के भने ?
काठमाडौं । सामाजिक सञ्जालमा ‘भाइरल’ हुने नाममा मौलाएको विकृति र त्यसको सामाजिक प्रभावलाई कथावस्तु बनाएको चलचित्र ‘भाईरल गोर्खे’ को प्रिमियर शो सम्पन्न भएको छ ।
माघे संक्रान्तिको अवसर पारेर भोली बिहीबार (माघ १ गते) बाट देशब्यापी प्रदर्शनमा आउने चलचित्रको मंगलबार साँझ राजधानीमा आयोजित प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरूको बाक्लो उपस्थिति रह्यो ।
प्रिमियरमा उपस्थित पाहुना र सञ्चारकर्मीबाट यो सिनेमाले उत्कृष्ट प्रतिक्रिया बटुलेको छ । प्रिमियरको मुख्य आकर्षण सिनेमाका मुख्य जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठ रहे ।
अभिनेता सौगात मल्ल नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा सजिएर पुगेका थिए भने अभिनेत्री सृष्टि श्रेष्ठ नेवारी सांस्कृतिक पोशाकमा निकै सुन्दर देखिएकी थिइन् ।
प्रिमियरमा अभिनेत्री पूजा शर्मा, चर्चित भ्लगर सिसन बानियाँ, अभिनेता जयकिशन बस्नेत लगायतका सेलिब्रेटीहरू सिनेमा हेर्न पुगेका थिए । निर्देशक निगम श्रेष्ठ, निर्माता ऋमित श्रेष्ठ, महेश लामिछाने र सह-निर्माता शुभेच्छा पौडेलले पाहुनाहरूलाई स्वागत गरेका थिए ।
सिनेमा हेरेर निस्किएका अधिकांश पाहुनाले निर्देशक निगम श्रेष्ठको काम र कलाकारको अभिनयको प्रशंसा गरे ।
‘भाईरल गोर्खे’ हेरेपछि अभिनेत्री पूजा शर्माले संक्षिप्त कुरा गर्दै भनिन्,”सिनेमा केवल मनोरञ्जन मात्र नभई एउटा बलियो सन्देश पनि हो । पछिल्लो समय हराउँदै गएको सहकार्यको संस्कृतिलाई यसले झकझक्याएको छ । टिजरदेखि नै मलाई यो सिनेमा हेर्ने कौतुहलता थियो, फिल्मले मलाई निराश बनाएन ।”
यस्तै भ्लगर सिसन बानियाँले भने “नेपालमा भाइरल हुने ट्रेण्डमाथि बनेको यो एउटा राम्रो सिनेमा हो । पर्दामा केही नयाँ प्रयोग देख्न पाइन्छ । यसले मनोरञ्जनसँगै वर्तमान समयको एउटा यथार्थ पाटोलाई सुन्दर ढंगले चित्रण गरेको छ ।”
आफ्नो मेहनतले पर्दामा सार्थकता पाएको देख्दा सौगात मल्ल र सृष्टि श्रेष्ठ निकै उत्साहित देखिए । उनीहरूले भने, “हामीले यो सिनेमाका लागि निकै मिहिनेत गरेका थियौं, आज पाहुनाहरूको प्रतिक्रियाले त्यो मेहनत सफल भएको महसुस भएको छ । अब दर्शकको फैसलाको प्रतीक्षामा छौं ।”
निर्देशक निगम श्रेष्ठले पनि प्रिमियरको प्रतिक्रियाबाट आफू विश्वस्त रहेको बताउँदै दर्शकले पनि सिनेमालाई माया गर्ने आशा व्यक्त गरे ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको यस सिनेमामा सौगात र सृष्टिका साथै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको मुख्य भूमिका रहेको छ ।
अमर महर्जनको सिनेमेटोग्राफी रहेको यस सिनेमालाई लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनका रमणीय स्थलहरूमा खिचिएको हो ।
देशभरका मल्टीप्लेक्स र सिंगल स्क्रिनहरूले मंगलबारदेखि नै सिनेमाको अग्रिम टिकट बुकिङ खुल्ला गरिसकेका छन् ।



