दयाहाङ र सौगातको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । माघ १ गतेबाट चलचित्र ‘मिरमिरे’ र ‘भाईरल गोर्खे’ रिलिज हुँदा एउटा महत्वपूर्ण दृश्य चलचित्र नगरीमा देखिएको छ । त्यो के भने दयाहाङ राई र सौगात मल्लको प्रतिस्पर्धा ।

एकै दिन यी दुई चलचित्र प्रदर्शन हुँदा, बक्सअफिसमा यी दुईका चलचित्र आमनेसामने भएका छन् । दयाहाङ र सौगातबीच प्रतिस्पर्धा सुरु भएको छ ।

यी दुवै अभिनेता अभिनयका हिसाबले दर्शकको मन जतिसकेका कलाकार हुन् । तर, अहिले अभिनय कसले राम्रो गरेको छ, कसको चलचित्र राम्रो छ भन्ने होइन, कसको चलचित्रले कति कमायो भन्ने हिसाबकिताब धेरै हुन्छ । र, सफलताको मापदण्ड पनि यसैलाई मान्ने गरेको देखिन्छ ।

जुन चलचित्रले धेरै कमाउँछ त्यही चलचित्र राम्रो, जुन कलाकारको चलचित्रले धेरै कलेक्सन गर्छ, त्यही कलाकार सफल भन्ने भाष्य बनेको छ । त्यसैले चाहेर/नचाहेर पनि ‘भाईरल गोर्खे’ र ‘मिरमिरे’बीच पनि तुलना हुनेछ । यीमध्ये जुन चलचित्रले धेरै कलेक्सन गर्नेछ, त्यसैले राम्रोको ट्याग पाउनेछ र जसको चलचित्रले धेरै कमाउनेछ, उही सफल अभिनेता मानिनेछ ।

यी दुई अभिनेता दयाहाङ र सौगातको सन्दर्भमा पनि यही नै लागु हुनेछ । जसको चलचित्रले धेरै कमाउने छ, ऊ सफल कहलिनेछ, जो बक्सअफिसमा कमजोर देखिनेछ ऊ कमजोर कहलिनेछ । त्यसैले दयाहाङ र सौगातको यो बक्सअफिस भिडन्तलाई विशेष रूपमा हेरिएको छ ।

सौगात अभिनीत सिनेमा ‘भाईरल गोर्खे’लाई निगम श्रेष्ठ र दयाहाङ अभिनीत सिनेमा ‘मिरमिरे’लाई यम शेर्पाले निर्देशन गरेका छन् ।