निफ चैत १९ देखि २३ गतेसम्म हुने, ४० देशका ८८ वटा सिनेमा छनोट
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ०को नवौं संस्करण आगामी चैत १९ देखि २३ गते अर्थात् अप्रिल २ देखि ६ सम्म हुने भएको छ ।
‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यो संस्करणको महोत्सवको मिति घोषणा गरेको हो । यो संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर सिनेमाहरु चयन गरिएको निफले जनाएको छ ।
“हामीले यो पटक युवापुस्ता केन्द्रित सिनेमालाई प्राथमिकता दिएका छौं । निफलाई युवा मैत्री बनाउने हाम्रो प्रयास रहेको छ,” निफका अध्यक्ष केपी पाठक भन्छन्, “युवा मेकरहरुलाई प्रोत्साहन गर्न हामीले एआई सिनेमा मेकिङको कार्यशाला लगायतका सेसन पनि राखेका छौं । सिनेमाबाट युवा दर्शकलाई आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ ।”
यो वर्ष ८० बढी देशबाट ८०० बढी सिनेमाहरुले महोत्सवमा सहभागी हुन आवेदन दिएको निफले जनाएको छ । ती ८०० मध्येका उत्कृष्ट र युवाको चासोमा रहेका सिनेमाहरु चयन गरिएकाले यस संस्करणको निफको स्क्रिनिङ विशेष रहने ‘महोत्सव सिनेमा छनोट समिति’को विश्वास छ ।
‘पहिलाका संस्करणको तुलनामा यो पटक बढी सिनेमाको सहभागिता भएको छ । सबैभन्दा बढी सिनेमा प्राप्त भएको संस्करण बनेको छ,’ अध्यक्ष पाठक भन्छन्, ‘यो भनेको अन्तर्राष्ट्रिय सिनेमा समुदाय र मेकरहरुको निफप्रतिको विश्वास बढेको हो ।’
विश्व प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका, संघाई, लोकार्नो, बुसान, गोवालगायत सिनेमा महोत्सवमा सहभागी भएका र अवार्ड जितेका फिचर सिनेमा, छोटा सिनेमा, एआईबाट निर्माण भएका सिनेमा र डकुमेन्ट्री गरी ४० देशका ८८ वटा सिनेमा निफले छनौट गरेको हो ।
गत जुनमा निफले विश्वव्यापी आवेदन खुलाएको थियो । त्यसबेला निफ फागुनमा २१ देखि सुरु हुने घोषणा गरिएको थियो । गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनले फागुनमा आम निर्वाचन हुने भएकाले यसको मिति एक महिनापछि सारिएको छ ।
“निर्वाचन हुँदा यातायात देखि सुरक्षाका विषय सरोकारमा पर्छन्,” अध्यक्ष पाठक भन्छन्, “यी सुरक्षा र जटिलतालाई मध्यनजर गरी तथा आगामी निर्वाचन विशेष महत्वको भएकोले सबैको चासो र आम जनता सभागीता हुनपर्ने अवस्थालाई समेत ख्याल गर्दै निफलाई एक महिनापछि सारिएको हो ।”
यी विधामा दिइनेछ अवार्ड
निफको शीर्ष अवार्ड सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर सिनेमाका विजेता ‘गौतम बुद्ध अवार्ड’बाट एक हजार पाँच सय अमेरिकी डलर नगद र ट्रफीले पुरस्कृत हुनेछन् । सर्वोत्कृष्ट राष्ट्रिय सिनेमाका विजेता एक लाख रुपैयाँ नगद र ट्रफीले सम्मानित हुनेछन् ।
डकुमेन्ट्री सिनेमा विधामा सर्वोत्कृष्ट ठहर हुने ‘माउन्टे एभरेस्ट अवार्ड’ विजेता घोषित भइ पुरस्कार स्वरुप एक हजार अमेरिकी डलर र ट्रफी पाउनेछन् । सर्वोत्कृष्ट दक्षिण एसियाली फिचर सिनेमा विधाका विजेता पनि पाँच सय अमेरिकी डलर र ट्रफीले सम्मानीत हुनेछन् ।
एआई सिनेमा विधाका विजेता ‘मञ्जुश्री अवार्ड’मार्फत् पाँच सय अमेरिकी डलर र ट्रफीले पुरस्कृत हुनेछन् । अन्तर्राष्ट्रिय स्टुडेन्ड छोटो सिनेमाका विजेताले ‘बेस्ट स्टुडेन्ड सिनेमा अवार्ड’को ट्रफी पाउनेछन् ।
राष्ट्रिय छोटा सिनेमा विधाका विजेताले ‘सर्वोत्कृष्ट राष्ट्रिय सर्ट सिनेमा अवार्ड’मार्फन् पचास हजार रुपैयाँ नगद र ट्रफी पाउनेछन् । राष्ट्रिय डुकुमेन्ट्री विधाका विजेताले ‘वेस्ट नेशनल डकुमेन्ट्री’ अवार्डको ट्रफीसहित पचास हजार रुपैयाँ र ट्रफी पुरस्कार पाउनेछन् ।
राष्ट्रिय फिचर सिनेमातर्फ सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा लेखक, छायाँकार ट्रफीले पुरस्कृत हुनेछन् ।



