युट्युबमा ‘जाँदैछु नौ डाँडा काटेर’लाई लोभलाग्दो भ्यूज, के भन्छन् निर्देशक चन्द्र पन्त ?

काठमाडौं । पछिल्लो समय नेपाली फिल्मका गीतहरूले युट्युबमा सोचेजस्तो सफलता पाइरहेका छैनन् । तर, यसै बीच फिल्म ‘आ बाट आमा’ मा समावेश ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीतले भने युट्युबमा लोभलाग्दो भ्यूज पाएको छ ।

माघ १ गते सार्वजनिक भएको यो गीतले रिलिजको दुई दिनमै २४ लाख ८५ हजार भन्दा बढी ‘भ्यूज’ भ्यूज पाएको हो ।

गीतको भिडियोमा व्यक्त गरिएको परदेशिनु पर्ने नेपाली युवाको बाध्यता र विछोडको कथाले दर्शकको मन छोएको छ । दर्शकले कलाकारहरूको अभिनय र गीतको मर्मलाई लिएर प्रशंसा गरिरहेका छन् । धेरैले गीतले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।

यो गीतलाई किरण परियारले गाएका छन् भने अभि सुनारले शब्द संगीत भरेका छन् । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

गीतलाई सफल बनाउन अभिनेता पल शाह, पुराना चर्चित अभिनेत्री विपना थापा र प्रदीप रावतको जीवन्त अभिनयले मुख्य भूमिका खेलेको छ । साथमा साइग्रेस पोखरेल, उषा उप्रेती र सिम्रन पन्तको अभिनयलाई पनि दर्शकले निकै रुचाएका छन् ।

फिल्म ‘ह्रस्व–दीर्घ’ मार्फत आफ्नो क्षमता सावित गरिसकेका निर्देशक चन्द्र पन्तले यस पटक देशको समसामयिक कथालाई पर्दामा उतार्न खोजेका छन् ।

निर्देशक पन्त भन्छन्, “अहिलेको नेपाली समाजको यथार्थ कथालाई नै हामीले फिल्मको मुख्य मसला बनाएका छौं । गीतले पाएको मायाले हामीलाई थप उत्साहित बनाएको छ ।” निर्देशक पन्तले नै यस फिल्मको कथा र पटकथा तयार पारेका हुन् ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा रबिन्द्र झा, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरूको पनि सशक्त भूमिका छ । फिल्ममा नवराज उप्रेतीको छायांकन, मिलन श्रेष्ठको सम्पादन र साहिल खानको ट्रेलर/टिजर निर्माण रहेको छ ।

नेपालभरको प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको यो फिल्म यहि माघ १६ गतेदेखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ ।