karsang
Close Me

मुकुन भाग्यमानी कि अभागी अभिनेता ?

कलाकारका लागि उसको पहिचान अभिनय हो । नाटक, टेलिभिजन, सिनेमा वा विज्ञापन नै किन नहोस्, दर्शकले उसलाई चिन्ने उसको अभिनय क्षमताकै आधारमा हो ।

जोकोही कलाकारको अन्तिम गन्तव्य प्रायः सिनेमा नै हो । सिनेमाको पर्दामा लाखदेखि करोड संख्याका दर्शकले आफूलाई हेरुन् भन्ने जोकोही कलाकारको चाहना हुन्छ । तर, सबै दर्शकले चलचित्र टेलिभिजन वा थिएटरमै गएर हेर्छन् भन्ने छैन ।

अहिलेको डिजिटल युगमा घरमा, यात्रामा, कार्यालयमा चलचित्र हेर्न सकिन्छ । र यसमध्येको एक माध्यम हो, युट्युब । जो अरुभन्दा सर्वसुलभ छ । घर, गाडी वा अफिसमै सिनेमा हेर्ने माध्यम छन त अरु पनि छन् । तर युट्युब सबैभन्दा सस्तो र सहज छ ।

हलमा फिल्म प्रदर्शन हुँदा त्यति धेरै दर्शक भेटिँदैन, जति युट्युबमा भेटिन्छन् ।

के चलचित्रमा अभिनय गर्ने सबै कलाकारका सिनेमा युट्युबमा आएका छन् ? छैनन् । नेपाली चलचित्रमा केही यस्ता कलाकार छन्, जसका चलचित्र अभिनय क्षेत्रमा पाइला चाल्दादेखि वर्तमान अवस्थासम्म आइपुग्दा केवल थिएटरमा मात्र प्रदर्शन भएका छन् । थिएटरमा नगई युट्युबमा नै हेर्न चाहने दर्शकले भने त्यो अवसर पाएका छैनन् । उनीहरुले केवल त्यो चलचित्रको गीत र ट्रेलर मात्र युट्युबमा हेरेर चित्त बुझाउनु परेको छ ।

अभिनेता मुकुन भुषालले तिनै कलाकारको प्रतिनिधित्व गर्छन्, जसले अभिनय गरेका कुनै पनि चलचित्र युट्युबमा रिलिज भएका छैनन् । चलचित्र ‘बुलबुल’मा ‘चोपेन्द्र’ पात्रमार्फत नेपाली सिने उद्योगमा उदाएका मुकुनले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन । उनले अभिनय गरेका चलचित्रले बक्सअफिसमा राम्रो वा नराम्रो व्यापार जस्तो ब्यापार गरे पनि मुकुनको फिल्मी अभिनयको गति रोकिएको छैन ।

‘बुलबुल’देखि पछिल्लो रिलिज फिल्म ‘उपहार’सम्म आइपुग्दा उनले अभिनय गरेका कुनै पनि फिल्म युट्युबमा सार्वजनिक भएका छैनन् । भलै केही फिल्म पैसा तिरेर हेर्न सकिने ओटीटी प्लेटफर्ममा आएका छन् । तर निःशुल्क सिनेमा हेर्न पाउने सुविधाबाट दर्शक बञ्चित छन् । त्यसैले मुकुनलाई युट्युबका दर्शकले हेर्न पाएका छैनन् । उनको अभिनय कलालाई नियाल्न पाएका छैनन् । अब उनलाई भाग्यमानी भन्ने कि अभागी ? उनलाई यो जिज्ञासा राख्दा के भन्लान् ?