‘भाइरल गोर्खे’को दोस्रो ट्रेलरमा के छ ?

काठमाडौं । चलचित्र ‘भाईरल गोर्खे’को टिमले दोस्रो ट्रेलर सार्वजनिक गरेको छ ।

माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको चलचित्र हलमा लागिरहँदा निर्माण टिमले सिनेमाप्रति दर्शकको रुचि थप बढाउन एउटा फरक प्रयोग गरेर ‘ट्रेलर २ : गोर्खे लाइभ’ सार्वजनिक गरेको हो ।

२ मिनेट १६ सेकेण्ड लामो यो नयाँ ट्रेलरमा अभिनेता सौगात मल्ललाई ‘टिकटक लाइभ’ बसिरहेको अवस्थामा प्रस्तुत गरिएको छ । ट्रेलरको सबैभन्दा रोचक पक्ष भनेको अभिनेता जयकिसन बस्नेतको इन्ट्री हो । सौगातको लाइभमा जोडिएर जयकिसनले उनलाई ‘कमजोर नहुन’ भन्दै ढाडस दिएको दृश्य देख्न सकिन्छ ।

जसमा सौगातले निराश भावमा आफ्ना बाबुबाजेले देशका लागि ज्यान दिए पनि देशले आफूलाई केही दिन नसकेको भन्दै गुनासो गरिरहँदा जय किशनले उनलाई देशद्रोहीको संज्ञा दिन्छन् । उनले देशबाट नै निकाला गर्नुपर्छ भनेपछि सौगातले रिसमा मुक्का हान्दा छेउमै रहेको भैँसी भुइँमा बङ्लङ्गै ढल्छ ।

निर्देशक निगम श्रेष्ठका अनुसार सिनेमा प्रदर्शन भइसकेपछि पनि दर्शकलाई हलसम्म तान्न र फिल्मको मुड बुझाउन यो ‘लाइभ ट्रेलर’ सार्वजनिक गरिएको हो ।

‘भाइरल गोर्खे’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको भए पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तु, कमेडी पक्ष र अभिनेता सौगात मल्लको अभिनय निकै रूचाइएको छ ।

यो चलचित्रले वर्तमान समयको जल्दोबल्दो विषय ‘सोसल मिडिया भाइरल क्रेज’लाई मुख्य विषयवस्तु बनाएको छ । मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले भाइरल बन्नका लागि गर्ने अनौठा हर्कत, उनको सङ्घर्ष र त्यसले निम्त्याउने उतारचढावलाई सिनेमामा रमाइलो ढङ्गले खिचिएको छ । फिल्ममा सौगात र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य जोडी बाँधिएको छ ।

‘छड्के’ र ‘लालपूर्जा’ जस्ता फिल्ममार्फत आफ्नो छुट्टै पहिचान बनाएका निर्देशक निगम श्रेष्ठ ‘भाइरल गोर्खे’ आफ्नो निर्देशकीय क्षमताको पूर्ण प्रस्तुति भएको बताउँछन् । “यो हाम्रै घर-घरको र समसामयिक विषय हो, त्यसैले दर्शकले यसलाई आफ्नै कथा सम्झेर माया गरिरहनुभएको छ,” निर्देशक श्रेष्ठले विश्वास व्यक्त गरे ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको यस सिनेमामा सौगात र सृष्टिका साथै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेलको सशक्त अभिनय छ । साथै, पत्रकार ऋषि धमला, चर्चित टिकटक स्टारहरू रवि भुजेल र मिस पवीको समेत अभिनय छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवरले निर्माण गरेको यो सिनेमालाई अमर महर्जनले छायांकन गरेका हुन् । लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनका रमणीय स्थलहरूमा खिचिएको यो सिनेमालाई सुनिल मानन्धरले वितरण गरेका छन् ।