पोखरामा ‘कुमारी’को कन्सर्ट, निर्देशक राउत भन्छन्- पोखरेलीको मायाले पुलकित छु
पोखरा । आउँदो माघ २३ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन हुन लागेको चलचित्र ‘कुमारी’ ले पोखरामा आफ्नो साङ्गीतिक जादु छरेको छ ।
चलचित्र प्रवर्द्धनका लागि शनिवार साँझ पोखराको लेकसाइडस्थित हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ मा दर्शकको अभूतपूर्व सहभागिता देखिएको हो ।
नेपालगन्जबाट सुरु भएको चलचित्रको देशव्यापी साङ्गीतिक यात्राको दोस्रो गन्तव्य पोखरामा करिब ७ हजारभन्दा बढी दर्शकको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो ।
कन्सर्टमा जब चलचित्रका मुख्य कलाकार अबिशेक खड्का र आकृति राजभण्डारी स्टेजमा प्रवेश गरे, तब दर्शकको तर्फबाट निकै बेर हुटिङ र तालीको वर्षा भएको थियो । अहिले सामाजिक सञ्जालमा समेत निकै लोकप्रिय रहेको चलचित्रको गीत ‘डोको बुन्ने निगाली चोयाले’ मा कलाकार द्वयले प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा हल्लनचोकको माहोल उत्सवमय बनेको थियो ।
सो अवसरमा बोल्दै कलाकारहरूले पोखरेली दर्शकको मायाले आफूहरू उत्साहित भएको बताउँदै माघ २३ गतेदेखि हलमा पुगेर चलचित्र हेरिदिन आग्रह समेत गरे ।
साङ्गीतिक साँझलाई थप उचाइ दिन पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले चलचित्रका ‘डोको बुन्ने…’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतहरू प्रस्तुत गरेका थिए । साथै, गायक लिम्बुले आफ्ना चर्चित हिट गीतहरू ‘सरर’ र ‘बैगुनी’ गाएर दर्शकलाई मज्जाले झुमाएका थिए ।
बिग मार्टको प्रस्तुती र पावर्ड बाईमा आयोजित यस कन्सर्टको स्थानीय व्यवस्थापन ‘प्रचार’ ले गरेको थियो ।
पोखराको यो क्रेज देखेपछि निर्देशक दिनेश राउत निकै पुलकित सुनिए । उनले भने, “दर्शकको यो साथ र मायाले चलचित्रप्रति हाम्रो उत्साह अझ बढाएको छ। पोखराले हामीलाई सधैँ न्यानो माया दिएको छ ।”
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित यो चलचित्रको टोली अब देशका अन्य सहरतर्फ प्रस्थान गर्दैछ । तालिका अनुसार माघ ६ गते चितवन, १० गते काठमाडौँ र १७ गते झापाको दमकमा साङ्गीतिक कार्यक्रम हुनेछ ।
आगामी माघ १० गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष कन्सर्टमा चलचित्रको आधिकारिक ट्रेलर समेत सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ ।



