लक्ष्मण र कल्पनाको ‘उडी पुतली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रको चर्चित जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ सांगीतिक कोसेली ‘उडी पुतली’ सार्वजनिक भएको छ ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएको यो जोडीले नेपाली लोक संगीतलाई आधुनिकतासँग जोड्दै नयाँ स्वादमा यो गीत बजारमा ल्याएको हो ।

लक्ष्मण पौडेलकै शब्द र संगीत रहेको यस गीतमा लक्ष्मण र कल्पनाको स्वर रहेको छ । गीतको मुख्य विशेषता भनेको यसको संगीत संयोजन हो । लोकदोहोरी भाकालाई ‘हिपहप’ र ‘डान्सिङ ट्रयाक’ शैलीमा प्रस्तुत गरिएको छ, जसमा अमृत लगुनले र्‍यापमार्फत साथ दिएका छन् ।

गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । ‘कार्टुन्ज क्रू’का सरोज अधिकारीले निर्देशन गरेको भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र आश्मा विश्वकर्माको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

गायक लक्ष्मण पौडेल नेपाली लोकदोहोरी क्षेत्रमा संघर्ष र सफलताको एउटा नाम हो । पाल्पाको रामपुरबाट सांगीतिक यात्रा सुरु गरेका पौडेलसँग काठमाडौंका सडकमा साइकलमा क्यासेट बेच्नेदेखि रेकर्डिस्ट, एरेन्जर र सफल संगीत कम्पनी सञ्चालन गरेको लामो अनुभव छ ।

‘हो माया ढाँटे मरिजाम’ र ‘दुःखीको घर पर्यो रामपुर फाँटैमा’ जस्ता चर्चित गीतका सर्जक पौडेलले यसअघि नै ‘बेनीको बजार’ र ‘आँधिखोला उर्लेर आयो’ जस्ता रिमिक्स गीतमार्फत लोकदोहोरीमा र्‍याप र आधुनिकता भित्र्याउने प्रयोग गरिसकेका छन् ।

हाल अमेरिकामा रहेर पनि नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा सक्रिय पौडेल भन्छन्, “हाम्रो लक्ष्य नेपाली संगीतलाई अन्तर्राष्ट्रियकरण गर्नु हो । प्रवासमा रहे पनि आफ्नो माटोको सुगन्ध र संगीतलाई सधैं माया गरिरहनेछौँ ।” उनी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मेरिल्याण्डका पूर्वअध्यक्ष समेत हुन् ।