‘डाँडा काँडा बन चाहारी’ गीत सार्वजनिक गर्दै मोफसल यात्रामा ‘भाईरल गोर्खे’ टिम

काठमाडौं । माघ १ गते माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आएको सिनेमा ‘भाईरल गोर्खे’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित भएको निर्माण टिम अहिले मोफसल यात्रामा छ ।

आइतबार मोफसलको ठुलो सहर कास्कीको पोखरा पुगेको निर्माण टिम आज चितवनमा दर्शकसँग साक्षात्कार गर्नेछ । सिनेमाको मोफसल यात्रामा सिनेमाका मुख्य कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठसहित निर्माता महेश लामिछानेसहितको टिम छ । मोफसलमा दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले विस्तारै सिनेमाले व्यापारिक रफ्तार पक्डिने विश्वास निर्माण टिमको छ ।

मोफसलका पोखरा र चितवनपछि निर्माण टिम बुटवल, नेपालगञ्ज, धरान, विराटनगर, इटहरी, दमक र बिर्तामोडसम्म पुग्ने योजना रहेको निर्माता महेश लामिछाने बताउँछन् ।

यसैबीच, सिनेमाको निर्माण टिमले ‘भाईरल गोर्खे’को नयाँ गीत समेत सार्वजनिक गरेको छ । सार्वजनिक गीत अभिनेता सौगात मल्ल लगायतका मुख्य कलाकार फिचर्ड छन् ।

सोमबार सार्वजनिक सिनेमाको ‘डाँडा काँडा बन चाहारी’ बोलको गीतमा रोहित शाक्यको संगीत तथा जसोन कुँवरको शब्द रचना अनि त्रिशला गुरुङ र दीपक लिम्बूको स्वर छ । सार्वजनिक गीतको भिडियोमा सामाजिक सञ्जाल टिकटकमा भाईरल पात्र गुमनाम भएपछिको अवस्थालाई चित्रण गरिएको छ । जसले सिनेमाप्रति उत्सुकता जगाउने देखिन्छ ।

सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल ९गोर्खे०ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा सिनेमाभित्र समेटिएका छन् । यो सिनेमामा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ ।