फागुन १ मा ५ चलचित्रको ‘महाभिडन्त’, केही निर्माता त्रासले ‘ब्याकअप प्लान’मा
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा विशेष गरि चाडपर्व र बिदाको दिन छोपेर चलचित्र रिलिज गर्ने होडबाजी चल्ने गर्छ । यसै क्रममा आगामी फागुन १ गते (महाशिवरात्रि) लाई लक्षित गर्दै पाँचवटा नेपाली चलचित्रले आफ्नो प्रदर्शन मिति घोषणा गरेका छन् ।
यो मितिमा एकपछि अर्को गर्दै चलचित्रहरूले रिलिज मिति तय गर्न थालेपछि मेकर र दर्शक दुबैको ध्यान अहिले यही मितिमा केन्द्रित भएको छ । एकै दिन पाँच चलचित्र प्रदर्शन हुँदा हल पाउन मुस्किल हुने र व्यापार बाँडिने निश्चित छ । त्यसमाथि चुनावी सरगर्मीले दर्शकको ध्यान राजनीति तिर मोडिएमा लगानी जोखिममा पर्ने डर निर्माताहरूमा देखिन्छ ।
पछिल्लो समय विकसित भइरहेको राजनीतिक परिस्थिति र चुनावी चर्चाका कारण यी चलचित्रहरू तोकिएकै मितिमा आउनेमा भने संशय पैदा भएको छ । फागुन १ मा रिलिज हुने भनिएका यी मध्ये केही चलचित्रका निर्माताहरू यतिबेला ‘ब्याकअप प्लान’ सहित बसेका छन् । यदि चुनावी माहोल तातियो र अघिल्ला हप्ताका चलचित्रहरूको व्यापार खस्कियो भने फागुन १ को यो ‘महाभिडन्त’ बाट केही चलचित्र पछि हट्ने निश्चित छ ।
अहिलेलाई फागुन १ गते प्रदर्शन हुने तयारीमा रहेका चलचित्रहरूमा ‘लालीबजार’, ‘कल्ली’, ‘शिवांश’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘बिगुल’ रहेका छन् ।
‘जात्रा’ शृङ्खलाबाट स्थापित ब्यानर षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ फागुन १ का लागि निकै प्रतिक्षित मानिएको छ । स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको यस चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् ।
यो चलचित्र अहिले ‘पर्ख र हेर’ को रणनीतिमा छ । चुनावी माहोलका कारण यस सिनेमाको मिति सर्ने सम्भावना बलियो छ ।
अहिलेसम्म फागुन १ कै अडानमा रहेको चुनावको औपचारिक घोषणा र त्यसको प्रभावले निर्णय बदलिन सक्ने अवस्थामा रहेको कार्यकारी निर्माता प्रदीप भट्टराई बत्ताउँछन् ।
भट्टराई भन्छन्,‘‘अहिलेसम्म हामीले मिति फेरेका छैनौँ, तर चुनाव हुने नै भयो भने रिलिज परिवर्तन हुन सक्छ । आजभोलिको माहोल हेरेर मात्र अन्तिम निर्णय लिनेछौँ ।”
यस्तै अर्को चलचित्र ‘कल्ली’ पनि फागुन १ कै लागि तयार छ । सौगात मल्ल, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत र अर्पण थापा जस्ता नाम चलेका कलाकारहरूको अभिनय रहेको छ ।
यो चलचित्रका निर्माता किरण नेपाली सिनेमाको व्यापारलाई लिएर जति उत्साहित छन्, चुनावी माहोललाई लिएर त्यति नै सशंकित । उनका अनुसार चलचित्र तोकिएकै मितिमा आउने तयारी भए पनि चुनावी असर देखिएमा पछि हट्न सक्ने सम्भावना रहेको बत्ताउँछन् ।
उनी भन्छन्, “अगाडि रिलिज हुने चलचित्रको व्यापार र चुनावी माहोल हेरेर मात्र हामी अघि बढ्छौँ । चुनावी सहगर्मी बढेमा हामी पछाडि धकेलिनेछौँ ।”
सन्तोष कुमार आत्रेयको निर्देशनमा तयार भएको ‘शिवांशः च्याप्टर १’ पनि यही मितिमा भिड्दैछ । अञ्जान केसीको कथा लेखन रहेको यो चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रूषा न्यौपाने मुख्य भूमिकामा छन् । साथमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहेको छ ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रमा अञ्जान केसी लगानी र शोभा भण्डारी निर्मातामा, सह–निर्मातामा कृष्ण बोगटी, अनिशा केसी बोगटी, सुनिता राना र निर्मल भण्डारी छन् ।
त्यस्तै, सुदीप भुपाल सिंहको निर्देशनमा बनेको ‘श्री बुकुरोः द होम कलिङ’ विशुद्ध पारिवारिक कथामा आधारित छ । यही भिडन्तको सारथी यो सिनेमाले सोमबार मात्रै एक पोस्टर सार्वजनिक गर्दै फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्क सिनेमा ‘श्री बुकुरो’बाट निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशन फर्किएका हुन् ।
यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए । पछिल्लो समय सामाजिक पारिवारिक सिनेमाले दर्शकको मन जितिरहेको अवस्थामा ‘श्री बुकुरो’को विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउने विश्वास निर्देशक सिंहको छ ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ । निर्देशक सिंह स्वयंको लेखन रहेको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।
पहिले माघ ९ गते प्रदर्शन हुने भनिएको चलचित्र ‘बिगुल’ अब फागुन १ मा आउने भएको छ । यो सिनेमाको हिजो मात्रै रिलिज मिति तय गरेको हो । यो चलचित्रले राजनीतिमा युवाहरूको भूमिकालाई मुख्य विषय बनाएको छ ।
रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन् ।
निर्माता कोइराला स्वयमको कथा रहेको चलचित्रको पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।
राजनीतिलाई नै विषयवस्तु बनाएको यो फिल्मका लागि चुनावी माहोल अवसर बन्छ वा चुनौती, त्यो भने हेर्न बाँकी छ।



