प्रदर्शनमा आयो ‘परिवर्तन’, एक्सन हिरोको रूपमा देखिँदै सुशील

काठमाडौं । एक्सनप्रधान चलचित्र ‘परिवर्तन’ प्रदर्शनमा आएको छ । वसन्तपञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा आज शुक्रवारबाट रिलिजमा आएको हो ।

फ्राइडे रिलिज अन्तरगत रिलिजमा आएको प्रदर्शनमा यो चलचित्रलाई विजय केरुङले निर्देशन गरेका हुन् ।

अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईलीको मुख्य भूमिका रहेको यस चलचित्रले साहस, त्याग र वास्तविक बदलाबको लागि गरिने संघर्षको कथा भन्छ ।

यस चलचित्रमा अभिनेता सुशीललाई एक सशक्त ‘एक्सन हिरो’को रूपमा प्रस्तुत गरिएको छ । अभिनेत्री अञ्जना प्रहरी इन्पेक्टरको भूमिकामा देखिएकी छन् ।

‘परिवर्तन’ले देशभरका अधिकांश मल्टीप्लेक्समा पहिलो दिनका लागि करिब ९० शो पाएको छ ।

१ सय ३३ (२ घण्टा १३ ) मिनेटको रनटाइम रहेको यो सिनेमालाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले ‘पिजी’ सर्टिफिकेट प्रदान गर्दै प्रदर्शनका लागि अनुमति दिएको छ । अब १६ वर्ष मुनिका दर्शकले यो चलचित्र हेर्नका लागि अनिवार्य रूपमा आफ्नो अभिभावकको साथमा जानुपर्नेछ ।

चलचित्रको टिजर र ट्रेलरले यसअघि नै सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलिसकेका छन्, जसका कारण ओपनिङ व्यापार सुखद हुने अपेक्षा गरिएको छ । यद्यपि, बलिउड र हलिउडका ठूला चलचित्रहरूसँगै एकैसाथ रिलिज भएका कारण ‘परिवर्तन’ का लागि बलियो ‘वर्ड अफ माउथ’ निकै महत्त्वपूर्ण हुने देखिन्छ ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील र अञ्जनाका अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ ।

चलचित्रका निर्माता दीपक सिवाकोटी हुन् । निर्माता सिवाकोटीकै कथा रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र बन्दे प्रसादको सम्पादन रहेको छ ।