मनोज पण्डितको ‘ग्रेट’को छायांकन सुरु, नायिका शोभिता, विशेष भूमिकामा मनोज

काठमाडौं । निर्देशक मनोज पण्डितले चलचित्र ‘ग्रेट’को छायांकन सुरु गरेका छन् । श्रीपञ्चमीको अवसर पारेर पर्वतको ऐतिहासिक एवं पर्यटकीयस्थल महाशिलामा चलचित्रको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।

युधिष्ठिर सरस्वती क्रिएसनको ब्यानरमा बन्ने यस चलचित्रको छायांकन पैयुँ क्षेत्रबाट सुरु भएको छ । चलचित्रको मुख्य भूमिकामा नायिका शोभिता सिम्खडा छिन् । उनले यसै चलचित्रमार्फत लामो समयपछि रजतपटमा कमब्याक गर्नेछिन् ।

“मैले अभिनयबाट विश्राम लिएर अध्यात्मको बाटो रोजेको थिएँ । ‘ग्रेट’को कथावस्तु र यसले बोक्ने आध्यात्मिक चेतना मेरो वर्तमान जीवनशैलीसँग निकै नजिक छ,” उनले भनिन्, “त्यसैले यो चलचित्र मेरो लागि केवल अभिनय मात्र नभएर एक साधना पनि हुनेछ ।”

शोभितासँगै विशाल पोखरेल, देवेन्द्र नेपाल, अग्रिम पण्डित, रिस्ता बस्नेत, दीपक भट्टराई र टंक चौलागाईंलगायतको अभिनय रहनेछ । मनोज पण्डित पनि विशेष भूमिकामा देखिनेछन् । चलचित्रको कथा पनि मनोज स्वयंले लेखेका छन् । चलचित्र ‘एक’ पछि मनोज निर्देशनमा फर्किएका हुन् ।

विवेक लामाले छायंकन गरिरहेको चलचित्रलाई गायिका सोफिया थापाले निर्माण गर्नेछिन् ।