युवाको आवाज सुन्दै चलचित्र ‘कुमारी’
काठमाडौं । माघ २३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुमारी’को टिमले ‘नेपाली चलचित्र, संगीत र मिडियाबाट युवा पुस्ताले के अपेक्षा राखेका छन् ?’ भन्ने विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी, युवाको सहभागिता थियो।
कार्यक्रममा सहभागी ३० जना युवाले नेपाली चलचित्र, संगीत र मिडियासम्बन्धी आफ्ना धारणा राखेका थिए । युवाहरूले यस्ता किसिमका कार्यक्रमले आफ्ना भावना खुलेर व्यक्त गर्न पाएकोमा खुसी व्यक्त गरे ।
सहभागी युवाहरूको भनाइ थियो, “हामी चलचित्र हलमा समय बिताउन मात्र जाँदैनौँ । सिनेमाले हाम्रो संस्कृति देखाउनुपर्छ, मौलिकता हुनुपर्छ ।”
सामाजिक सञ्जाललाई युवालाई प्रभाव पार्ने प्रमुख माध्यमका रूपमा उल्लेख गर्दै कतिपय समीक्षामा अतिरञ्जना हुने गरेकोप्रति चिन्ता व्यक्त गरे । युवाहरूले नेपाली चलचित्रले आफूहरूले चाहेजस्तो स्तर नपुगेको भन्दै राम्रो चलचित्र हेर्न विदेशी फिल्मतर्फ आकर्षित हुनुपरेको गुनासो पनि गरे ।
संगीततर्फ युवाको अपेक्षा स्पष्ट थियो, “गीतमा हिरोहिरोइनको लुक्सभन्दा पनि भावना चाहिन्छ । संगीत मनोरञ्जनका लागि मात्र होइन, जीवनसँग जोडिन सक्नुपर्छ ।”
निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘कुमारी’बाट अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् । उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । छायांकन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन् ।
चलचित्रका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ले दर्शकमाझ राम्रो चर्चा पाइसकेका छन् ।




