केहरको गीतमा अभिषेक र आकृतिको नृत्य
दमक । माघ २३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कुमारी’ले आफ्नो प्रवर्द्धन अभियानलाई तीव्र पारेको छ । काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरे लगत्तै चलचित्रको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो ।
चलचित्रको प्रचार प्रसारका लागि मोरङको मधुमल्ला बजारमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ भव्य रूपमा सम्पन्न भएको छ । भगवती माध्यमिक विद्यालयको प्रांगाणमा आयोजित उक्त सांगीतिक कार्यक्रममा करिब दुई हजार दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारीले चलचित्रको सुपर हिट गीत ‘डोको बुन्ने’मा लाइभ नृत्य प्रस्तुत गर्दा दर्शकहरू पनि उनीहरूसँगै झुमेका थिए ।
सो अवसरमा चलचित्रका पार्श्व गायक केहर सिं लिम्बूले ‘डोको बुन्ने’, ‘तिमी बिना’, ‘कता छौ’लगायत आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । चिसो मौसमका बाबजुद पनि दर्शकहरू राति ११ बजेसम्म कार्यक्रम स्थलमै बसेर कलाकारहरूलाई साथ दिएका थिए ।
यसैबीच, कलाकार अभिषेक खड्का शनिवार दिउँसो झापाको बिर्तामोडस्थित आफ्नो घर पुगेका छन् । अभिनेत्री आकृतिसहित आफ्नो गृह नगर पुगेका अभिषेकलाई आफन्त र छिमेकीले भव्य स्वागत गरेका थिए ।
लामो समयपछि घर पुगेका उनले बुबालाई भेट्दा माहौल निकै भावुक बनेको थियो । डेब्यु चलचित्रबाटै अपार चर्चा बटुलिरहेका अविषेक र आकृति दुवै सो क्रममा भावुक देखिएका थिए ।
यसअघि काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा १० हजारभन्दा बढी दर्शकको उपस्थितिमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।
निर्देशक दिनेश राउतले ट्रेलरले पाएको प्रतिक्रियाले आफू उत्साहित भएको बताए । उनले भने, “दर्शकको प्रतिक्रियाले हामीलाई सिनेमा घरसम्म पनि यस्तै साथ मिल्ने विश्वास दिलाएको छ ।”
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेको यस चलचित्रमा प्रेम, संघर्ष र पारिवारिक अन्तद्र्वन्द्वलाई चित्रण गरिएको छ । अविषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको यस चलचित्रका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ यसअघि नै हिट भइसकेका छन् ।




