तेस्रो साता आइपुग्दा ‘गोबर गणेश’ले कमायो थप २२ लाख
काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले घरेलु बक्स अफिसमा उत्साहजनक प्रदर्शन गरिरहेको छ ।
माघ १ गते (माघे संक्रान्ति) को अवसर पारेर प्रदर्शनमा आएको यस चलचित्रले तीन साताको अवधिमा १ करोड ३६ लाख रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो ‘सिनेपाः बक्सअफिस कलेक्सन’ रिपोर्ट अनुसार प्रदर्शनको तेस्रो शनिबारसम्म यस चलचित्रले देशभरबाट कुल १ करोड ३६ लाख २० हजार ८ सय ६६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
कलेक्सनको सुरुवाती ट्रेन्ड हेर्दा चलचित्रले प्रदर्शनको दोस्रो शनिबारसम्म १ करोड १४ लाख ३५ हजार २ सय ६ रुपैयाँ कमाएको थियो । तेस्रो सातासम्म आइपुग्दा यसले थप करिब २२ लाख रुपैयाँको व्यापार थपेको देखिन्छ ।
तथ्याङ्कअनुसार यस अवधिमा देशभरका विभिन्न सिनेमा हलहरूबाट ४८ हजार ५३ वटा टिकट बिक्री भएका छन् ।
‘गोबर गणेश’ एउटा सामाजिक र भावनात्मक कथामा आधारित चलचित्र हो । यसमा ग्रामीण परिवेशमा हुर्केको एक युवा ‘गणेश’ को जीवन संघर्षलाई मुख्य विषय बनाइएको छ । गाउँको सामान्य वातावरणबाट आमाको सपना पूरा गर्ने लक्ष्य बोकेर सहर पसेको एउटा युवकले भोग्नुपर्ने उतारचढाव, सहरिया जीवनका चुनौती र उसको संघर्षलाई चलचित्रमा जीवन्त रूपमा उतारिएको छ ।
हास्य विधामा दख्खल राख्ने मरिचमानले यसपटक पर्दामा दर्शकलाई हँसाउनुका साथै भावुक पनि बनाएका छन् । लामो समयदेखि टेलिभिजनको पर्दामा ‘बल्छी धुर्वे’ को नामले चर्चित मरिचमान श्रेष्ठका लागि यो चलचित्र विशेष छ । यो उनको लेखन र निर्देशनमा डेब्यु चलचित्र हो । सानो पर्दामा सफल मानिएका मरिचमानले ठूलो पर्दाको निर्देशनमा पनि सुखद सुरुवात गरेका छन् ।
‘बल्छी धुर्वे फिल्मस’ को प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा मरिचमान श्रेष्ठ स्वयं मुख्य भूमिकामा छन् भने अभिनेत्री वर्षा सिवाकोटी, पूजन घिमिरे ‘पुकु’, पदम तामाङ, सीतादेवी तिमल्सिना लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।



