प्रि–बुकिङ खुला: शो संख्यामा ‘कुमारी’को वर्चस्व, ‘रमिताको पिरती’ले कति पायो ?

काठमाडौं । यही शुक्रबार (माघ २३ गते) बाट देशव्यापी रूपमा दुई नेपाली चलचित्रहरू ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनमा आउँदैछन् । फरक–फरक जनरा र मेकरका यी दुई चलचित्रबीचको प्रतिस्पर्धालाई लिएर फिल्म वृत्तमा निकै चर्चा छ ।

मंगलबारदेखि नै देशभरका प्रमुख मल्टीप्लेक्सहरू क्यूएफएक्स, आईएनआई, वान सिनेमाज, बिग मुभिज, एफक्यूब लगायतले यी दुवै चलचित्रको शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन् ।

देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला र शो बाँडफाँडको प्रारम्भिक तथ्याङ्क हेर्दा दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ ले प्रदर्शकहरूको उच्च साथ पाएको देखिन्छ ।

यो समाचार तयार पार्दासम्म देशभरका मल्टीप्लेक्सहरूले उपलब्ध गराएको शो तथ्याङ्क अनुसार शुक्रबारका लागि यस चलचित्रले देशभर कुल ९७ शो प्राप्त गरेको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्नो आउटलेटमा चलचित्र ‘कुमारी’लाई ४९ शोज उपल्ब्ध गराएको छ । यसले काठमाडौं उपत्यकाका हलमा १८ शो पाएको छ भने मोफसलमा ३१ शो पाएको छ ।

यसैगरि, चलचित्र ‘कुमारी’लाई देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईका ५ वटा आउटलेटमा २३ शो, बिग मुभिजले ५ शो र एफक्युब सिनेमाले ४ शो दिएका छन् ।

केही हलहरुमा शो खुल्न बाँकी र अग्रीम टिकट बुकिङ खुल्ला हुँदै गएको र देशभर करिब १ सय २० शो भन्दा बढी पाउने देखिएको छ ।

अभिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको यो चलचित्र लभ स्टोरी मसलाले भरिएको हुनाले पनि हल सञ्चालकहरूले यसमा बढी भरोसा देखाएको अनुमान गरिएको छ । जसले गर्दा यसको ‘ओपनिङ’ आक्रामक हुने संकेत मिलेको छ ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘कुमारी’बाट अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गर्दै छन् । चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।

चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । छायांकन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन् ।

चलचित्रका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ले दर्शकमाझ राम्रो चर्चा पाइसकेका छन् ।

‘रमिताको पिरती’ लाई मध्यम शो

सुदिप्ता अधिकारीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘रमिताको पिरती’ ले देशभर कुल ६१ शो पाएको छ । शो संख्या ‘कुमारी’ को तुलनामा कम भए तापनि यस फिल्मलाई लिएर युवा दर्शकमाझ छुट्टै क्रेज देखिएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्नो आउटलेटमा चलचित्र ‘रमिताको पिरती’लाई ४९ शोज उपल्ब्ध गराएको छ । यसले काठमाडौं उपत्यकामा १५ शो पाएको छ भने मोफसलमा १७ शो पाएको छ ।

यसैगरि, यो चलचित्रलाई देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईका ५ वटा आउटलेटमा ९ शो, बिग मुभिजले ३ शो र एफक्युब सिनेमाले ३ शो दिएका छन् । केही हलहरुमा शो खुल्न बाँकी रहेको छ ।

‘रमिताको पिरती’मा आना शर्मा, धिरज मगर र विनय श्रेष्ठ कलाकारहरूको अभिनय छ । साथै, चर्चित गायक समीर श्रेष्ठले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका कारण उनका प्रशंसकहरू चलचित्रप्रति आकर्षित देखिएका छन् ।

एउटी महिलाको भावनात्मक यात्रा र जीवनको भोगाइलाई चित्रण गरिएको यो चलचित्रले सहरी क्षेत्रका दर्शक र मल्टिप्लेक्समा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

दुई चलचित्र एकैसाथ जुध्दा दर्शकहरू बाँडिने सम्भावना रहे पनि दुवैको ‘पब्लिसिटी’ र हाइप राम्रो देखिएको छ । ‘कुमारी’ व्यावसायिक धारमा बढी केन्द्रित देखिएको छ भने ‘रमिताको पिरती’ ले कलात्मक र भावनात्मक पाटोलाई बढी जोड दिएको छ ।

अग्रिम बुकिङको ट्रेन्ड हेर्दा शुक्रबार बिहानी शोहरूमा दुवै चलचित्रको उपस्थिति राम्रो रहने देखिएको छ । माघ महिनाको चिसोमा हलसम्म दर्शक तान्न यी दुई चलचित्र सफल हुन्छन् या हुँदैनन्, त्यसको स्पष्ट चित्र भने भोलिको ओपनिङ र दर्शकको ‘वर्ड अफ माउथ’ पछि मात्र स्पष्ट हुनेछ ।