‘श्री बुकुरो : द होम कलिङ’को ट्रेलर सार्वजनिक

काठमाडौं । फागुन १ गतेदेखि प्रदर्शन तयारीमा रहेको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ग्रामीण परिवेशमा निर्माण गरिएको सिनेमाको कथावस्तुमा पारिवारिक स्नेह, मिलन र नोकझोंकले दर्शकमाझ उत्साह थपेको छ ।

काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रको चाहना, अपेक्षा र द्वन्द्वका तत्वलाई समेटेको छ । सिनेमाकी मुख्य पात्र लक्ष्मी गिरीलाई केन्द्रमा राखेर तयार पारिएको ट्रेलरले सानो बुकुरो (घर) बनाउने चाहना, छोराहरूको विवाह, उनीहरूको खुसीलगायत कुरालाई चित्रण गरेको छ ।

यो सिनेमाको करिब ३ मिनेट ३३ सकेन्ड लामो ट्रेलरले हामीलाई पात्रको मनोदशा र गतिसँगै यात्रा गराउँछ । मानवीय सम्बन्धका सुक्ष्मतालाई चित्रण गरिएको ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पनि पार्छ । यो सिनेमालाई विशुद्ध पारिवारिक र मनोरञ्जनात्मक बताइएको छ ।

सिनेमामा सुदीप भुपाल सिंहको लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ ।

निर्देशक सिंह स्वयंको लेखन रहेको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।

सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।

किशोर भट्ट, कुलदीप शर्मा र प्रेम खतिवडा सहायक निर्देशक रहेको सिनेमाको गीतमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न पाइनेछ ।