स्तरोन्नति गर्ने चलचित्र घरलाई अनुदानका लागि आवेदन आह्वान
काठमाडौं । चलचित्र विकास बोर्डले देशभरका सिंगल थियटरसहितका चलचित्र घरको स्तरोन्नति, पुनः सञ्चालन र दर्शक बढाउन अनुदान उपलब्ध गराउने भएको छ । नेपाली चलचित्रको प्रवर्द्धन र बजार विस्तारलाई लक्षित गर्दै बोर्डले अनुदान सहयोगका लागि एक साताभित्र आवेदन दिन आग्रह गरेको छ ।
तोकिएका कागजातसहित बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी सात दिनभित्र चलचित्र विकास बोर्डको कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
विशेषगरी काठमाडौं उपत्यका बाहिर सञ्चालनमा रहेका, विभिन्न कारणले बन्द भई पुनः सञ्चालन गर्न चाहने चलचित्रघरलाई प्राथमिकता दिने बोर्डले बताएको छ ।
व्यावसायिक मल बाहेकका स्थानमा रहेका, ऐतिहासिक तथा पुराना चलचित्र घर र जनघनत्व बढी भएका क्षेत्रमा रहेका चलचित्रघरलाई समेत अग्राधिकार दिइनेछ ।
हाल सञ्चालनमा रहेका चलचित्र घरले बक्सअफिस प्रणाली लागु गरी बोर्डको सेन्ट्रल सिनेमा मेनेजमेन्ट सिस्टममा नियमित तथ्यांक उपलब्ध गराएको हुनुपर्ने बोर्डको सर्त छ ।
चलचित्र विकास शुल्क, मूल्य अभिवृद्धिकर तथा मनोरञ्जन करलगायत सबै राजस्व समयमै चुक्ता गरेको चलचित्र घरलाई प्राथमिकतामा राखिने बोर्डले जनाएको छ ।
आवेदन फाराम बोर्डको कार्यालय वा बोर्डको वेबसाइट www.film.gov.np बाट डाउनलोड गर्न सकिनेछ । तोकिएको म्यादपछि प्राप्त हुने आवेदनमाथि कुनै कारबाही नहुने बोर्डले स्पष्ट पारेको छ ।
बोर्डका अनुसार यो कार्यक्रम गत आर्थिक वर्षको निरन्तरता भएकाले गत वर्षकै सूचनाअनुसार आवेदन दिइसकेकाहरूले पुनः आवेदन दिनुपर्ने छैन ।




