‘राते काइँला’ : जसले खलनायकलाई ‘ब्रान्ड’ बनाए

काठमाडौं । नेपाली चलचित्र जगतमा ‘खलनायकी’लाई नयाँ परिभाषा दिने अभिनेता सुनील थापाको शनिबार बिहान निधन भएको छ । ६८ वर्षीय थापाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बिहान एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । अस्पताल स्रोतका अनुसार उनलाई ‘अनकन्सियस’ (बेहोस) अवस्थामा अस्पताल ल्याइएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले उनको उपचार सुरु गरे पनि बिहान ७ः४४ बजे ईसीजी गर्दा उनलाई मृत घोषणा गरिएको थियो । उनको निधनको प्राथमिक कारण ‘कार्डियाक अरेस्ट’ (हृदयघात) रहेको अस्पतालले जनाएको छ ।

वि.सं. २०१७ (सन् १९६०)मा दाङमा जन्मिएका सुनील थापा नेपाली चलचित्र इतिहासका त्यस्ता दुर्लभ पात्र हुन्, जसले पर्दामा खलनायकको भूमिका निर्वाह गरेरै नायकसरहको लोकप्रियता कमाए ।

चलचित्र ‘चिनो’मा उनले निभाएको ‘राते काइँला’को भूमिकाले उनलाई अमर बनायो । सुनील थापा भनेर नचिन्ने कतिपयले उनलाई ‘राते काइँला’ भनेर चिन्ने गर्छन् ।

उनको भीमकाय शरीर, माटो आवाज अनि डरलाग्दो गेटअपले दर्शकमा एक किसिमको कम्पन पैदा गथ्र्यो । सोही चलचित्रपछि उनी आम दर्शकमाझ आफ्नो वास्तविक नामभन्दा पनि ‘राते काइँला’कै नामले बढी चिनिन थाले ।

उनले करिब चार दशक लामो अभिनय यात्रामा १०० भन्दा बढी नेपाली, हिन्दी र भोजपुरी चलचित्रमा काम गरेका छन् ।

बलिउडबाट सुरु भएको यात्रामा ‘मेरी कोम’ले दिएको उचाइ
सुनील थापाको अभिनय यात्रा सन् १९८१ मा बलिउडको सुपरहिट चलचित्र ‘एक दुजे के लिए’बाट सुरु भएको थियो । त्यसपछि उनले नेपाली चलचित्र उद्योगलाई आफ्नो कर्मथलो बनाए ।

लामो समय नेपाली चलचित्रमा राज गरेपछि उनले सन् २०१४ मा बलिउडमा शक्तिशाली पुनरागमन गरे ।

बक्सिङ च्याम्पियन मेरी कोमको जीवनीमा आधारित चलचित्र ‘मेरी कोम’मा उनले प्रियंका चोपडाको गुरु (कोच)को भूमिका निर्वाह गरेका थिए । उक्त चलचित्रमा उनको संयमित र प्रभावशाली अभिनयको सर्वत्र प्रशंसा भएको थियो ।

सोही भूमिकाका लागि उनले भारतको प्रतिष्ठित ‘फिल्मफेयर अवार्ड’ मा सर्वश्रेष्ठ सहायक अभिनेताको मनोनयन समेत प्राप्त गरे, जुन नेपाली कलाकारका लागि एक गौरवपूर्ण उपलब्धि थियो ।

बहुआयामिक व्यक्तित्वः खेलाडीदेखि फोटो पत्रकारसम्म
कलाकारितामा आउनुअघि थापाको व्यक्तित्व बहुआयामिक थियो । सन् १९७० को दशकमा उनी मुम्बईमा मोडलिङ र फुटबल खेलमा निकै सक्रिय थिए । अभिनयबाहेक उनले पत्रकारितामा पनि आफ्नो परिचय बनाएका थिए ।

उनले मुम्बईको चर्चित ‘जेएस म्यागाजिन’का लागि फोटो पत्रकारका रूपमा काम गरेका थिए । सन् १९७४ मा भुटानका राजा जिग्मे सिग्ये वाङचुकको राज्याभिषेक कार्यक्रमलाई उनले फोटो पत्रकारकै रूपमा कभर गरेका थिए, जुन उनको जीवनको एउटा अविष्मरणीय क्षण थियो ।

थापाले ‘देश’, ‘दक्षिणा’, ‘बलिदान’, ‘बाटोमुनिको फूल’, ‘मुखौटा’, ‘क्याप्टेन’जस्ता थुप्रै चलचित्रमा अभिनय गरेका छन् ।

कला क्षेत्रमा उनले पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई दुई पटक ‘मोसन पिक्चर्स अवार्ड’ र अन्तर्राष्ट्रिय मञ्चमा ‘फेस्टिभल अफ ग्लोब लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो ।

थापाको निधनले नेपाली चलचित्र क्षेत्रले एउटा अविभावक, मार्गदर्शक र जीवन्त इतिहास गुमाएको छ । उनको परिवारमा श्रीमती राजनी लिम्बू थापा र दुई सन्तान रहेका छन् ।

नेपाली सिनेमाको पर्दामा ‘राते काइँला’को त्यो गर्जन र ओझिलो उपस्थिति अब कहिल्यै देखिने छैन, तर उनले सिर्जना गरेका पात्रहरू र उनले देखाएको अभिनयको बाटो नेपाली चलचित्रको इतिहासमा सधैँ जीवित रहनेछन् ।