प्रियंका चोपडाले सुनिल थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भनिन्- तपाइँ सधै मेरो कोच रहनु हुनेछ

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता सुनिल थापाको निधनले मनोरञ्जन संसार स्तब्ध बनेको छ । ६८ वर्षको उमेरमा शनिबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएका थापाप्रति हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडाले श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

फिल्म ‘मेरी कोम’ मा थापाका साथ काम गरेकी प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक स्मरणीय भिडियो र तस्बिर साझा गर्दै आफ्ना ‘कोच सर’ लाई सम्झिएकी हुन् ।

प्रियंकाले आफ्नो सन्देशमा सुनिल थापासँगको सम्बन्ध केवल सह–कलाकारमा मात्र सीमित नरहेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, “तपाईं सधैं मेरा कोच सर नै रहनुहुनेछ । जब मैले मेरो बुवा (अशोक चोपडा) लाई गुमाएको थिएँ, त्यो कठिन समयमा तपाईंले मलाई सम्हाल्नुभयो । मलाई थाहा नहुँदा पनि तपाईंले मलाई परिवारझैं माया दिनुभयो र म टुटेको बेला सहारा बन्नुभयो ।”

उनले थापाको न्यानो अंकमाल, मुस्कान र प्रेरणादायी व्यक्तित्वलाई आफ्नो स्मृतिमा सदैव जीवित राख्ने बताउँदै उनको आत्माको शान्तिका लागि प्रार्थना गरेकी छन् ।

सन् २०१४ मा प्रदर्शन भएको फिल्म ‘मेरी कोम’ मा सुनिल थापाले प्रियंकाको कठोर तर मायालु प्रशिक्षक (नरजित सिंह) को भूमिका निभाएका थिए । फिल्म छायांकनका क्रममा प्रियंकाले आफ्ना पिता गुमाएकी थिइन् । सो समयमा थापाले देखाएको अभिभावकत्व र सहानुभूतिले उनीहरूबीच गहिरो आत्मीयता निर्माण गरेको थियो । प्रियंकाले उनको दयालुताका लागि हृदयदेखि धन्यवाद दिँदै थापाको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।

भ्याली भ्यु अपार्टमेन्टमा बसोबास गर्दै आएका थापा शनिबार बिहान बेहोस अवस्थामा फेला परेका थिए । उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले हृदयघातका कारण निधन भएको पुष्टि गरे ।

चार दशक लामो अभिनय यात्रामा ३०० भन्दा बढी फिल्ममा काम गरेका थापा नेपालमा ‘राते काइँला’ को नामले जनजिब्रोमा झुण्डिएका छन् । उनले बलिउडमा समेत सशक्त अभिनय गरेर आफ्नो छाप छोडेका थिए ।

नेपाली कला क्षेत्रले एक ‘भर्सटायल’ र उर्जावान अभिभावक गुमाएको भन्दै अहिले सामाजिक सञ्जाल श्रद्धाञ्जलिले भरिएको छ ।