तेस्रो टीकापुर साहित्य महोत्सव चैत १३ देखि १५ सम्म
काठमाडौं । टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण यही चैत १३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । स्थापनाकालदेखि नै ‘साहित्यमार्फत सामाजिक सद्भाव’को नारा बोकेको टीकापुर साहित्य समाजले शनिबार गरेको पत्रकार सम्मेलनमार्फत त्रिदिवसीय महोत्सवको मिति र समयतालिका सार्वजनिक गरेको हो ।
महोत्सवको तेस्रो संस्करण थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष हुनेछ । जम्मा २१ बहस सत्रहरू रहने महोत्सवमा प्रत्येक दिन सात बहस सत्रहरू हुने छन् । हरेक बहस सत्र १/१ घण्टाको हुनेछ ।
महोत्सव भाषाविद् तथा नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचनबाट आरम्भ हुनेछ ।
नेपालमा विशेषगरी कैलाली, कन्चनपुर, बाँके, बर्दिया र दाङ्देउखुरीमा थारू समुदायको बाहुल्य छ । ‘थारू भाषा, थारू लोक साहित्य तथा संस्कृति नेपालको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले महोत्सवले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्धेश्य लिएको टीकापुर साहित्य महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले बताए ।
‘हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रुपमा विकास गर्दै भावी पुस्ताका लागि जोगाएर राख्न र यसको गरिमा र महत्वलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू महत्वपूर्ण माध्यम हुन्,’ संयोजक शाहको भनाइ छ ।
यसबाहेक महोत्सवमा भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकासलगायत विधाका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकहरूबीच छलफल हुने छन् ।
महोत्सवको महत्वपूर्ण कार्यक्रमका रुपमा सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव रहनेछ । कविता महोत्सवमा प्रथम हुने कवितालाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हवार रूपैयाँ नगद पुरस्कार र प्रमाणपत्र अर्पण गरिनेछ । महोत्सवमा सहभागी उत्कृष्ट कविताहरूको सङ्ग्रह पनि प्रकाशन गरिने आयोजकले जनाएको छ ।




