‘झरीपछिको इन्द्रेणी’ टिमद्वारा दिनेश सिटौलाको स्मृतिमा अक्षय कोष घोषणा
काठमाडौं । सामान्यतया चलचित्रले ५१औं दिन पूरा गर्दा केक काट्ने र खुसीयाली मनाउने गरिन्छ । तर, शनिबार राजधानीमा आयोजित चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ५१ दिने उत्सव भने निकै भावुक र भिन्न देखियो ।
‘झरीपछिको इन्द्रेणी’को निर्माण टिमले आफ्नो सफलताको खुसीलाई थाती राख्दै चलचित्रले प्रदर्शनको ५१औं दिन पूरा गरेको अवसरमा आफ्ना दिवङ्गत मिडिया संयोजक तथा चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष दिनेश सिटौलाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा चलचित्र प्रदर्शनको ५१औं दिन र सिटौलाको निधनको सातौं पुण्यतिथिमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’का निर्देशक तथा कलाकार अर्जुन घिमिरे (पाँडे) ले कला पत्रकारितामा स्वर्गीय सिटौलाले पुर्याएको योगदानलाई अमर बनाउन अक्षय कोषको घोषणा गरेका हुन् ।
निर्देशक घिमिरेले १० लाख रुपैयाँ राखेर अक्षय कोषको सुरुवात गरेको जानकारी दिए । कार्यक्रममै उपस्थित अन्य कलाकार र दाताहरूले सहयोग घोषणा गरेपछि कोषमा करिब २० लाख आसपास रकम जम्मा भएको छ ।
स्वर्गीय सिटौलासँगको १५–१७ वर्ष लामो मित्रता स्मरण गर्दै उनले भने, “हामी एउटै गाउँका हौं र चलचित्र क्षेत्रमा मलाई सधैं हौसला दिने व्यक्ति हुनुहुन्थ्यो दिनेश दाइ । उहाँको भौतिक शरीर नभए पनि उहाँको योगदानलाई सधैं जीवित राख्न हामीले ‘दिनेश सिटौला स्मृति पुरस्कार’ को घोषणा गरेका हौं ।”
उक्त कार्यक्रममा अक्षय कोषको सुरुवातका साथै ‘दिनेश सिटौला स्मृति चलचित्र पुरस्कार’ स्थापना पनि गरिएको छ । यो कोषबाट हरेक वर्ष एक जना कला पत्रकारलाई पुरस्कृत गरिने निर्देशक घिमिरेले जानकारी दिए ।
“हामीले दिनेश जीलाई सधैं जीवित राख्न यो प्रयास थालेका हौं,” “उनले अगाडि थपे, यो कोषबाट हरेक वर्ष एक जना सक्रिय कला पत्रकारलाई पुरस्कृत गरिनेछ ।”
घोषित अक्षय कोष र स्मृति पुरस्कारलाई पारदर्शी रूपमा सञ्चालन गर्न निर्देशक अर्जुन घिमिरेसँगै अभियन्ता कुमार बेन र चलचित्र पत्रकार सङ्घका अध्यक्ष समिर बलामी संरक्षकका रूपमा रहनेछन् ।
गत माघ १८ गते धापासीस्थित ग्राण्डी अस्पतालमा मस्तिष्कघात (ब्रेन ह्यामरेज) का कारण ४७ वर्षको उमेरमा सिटौलाको निधन भएको थियो ।
पोष ४ गतेबाट प्रदर्शनमा आएको यो सिनेमाले दर्शकको राम्रो साथ पाउँदै ५१ औं दिन पूरा गर्न सफल भएको छ ।
यस्तै, निर्देशक घिमिरेले सिटौलाको निधनको शोकमा भए पनि सिनेमाको व्यावसायिक नतिजाप्रति सन्तुष्टि व्यक्त गरे । सिनेमा घाटामा नरहेको र दर्शकको राम्रो समीक्षा पाएकोमा उनले खुसी व्यक्त गरे ।
उनले भने, “हामीले व्यापारबाट पैसा मात्र कमाएका छैनौं, दर्शकको राम्रो समीक्षा र इज्जत पनि कमाएका छौं । एउटा सचेतनामूलक सिनेमालाई दर्शकले ५१ औं दिनसम्म साथ दिनु नै हाम्रो ठूलो उपलब्धि हो ।”




