९ दिनमा १ लाख ७६ हजार दर्शकले हेरे ‘आ बाट आमा’, कमाइ कति ?
काठमाडौं । नेपाली चलचित्र बजारमा पछिल्लो समय पारिवारिक र भावनात्मक कथावस्तु भएका सिनेमाले दर्शकको मन जितिरहेका छन् । यसै क्रममा माघ १६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ ले बक्स अफिसमा सानदार व्यापार गरिरहेको छ ।
प्रदर्शनको दोस्रो सातामा दौडिरहेको यस चलचित्रले सुरुवाती ९ दिनमै ५ करोडको आँकडा छुन लागेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः बक्सअफिस रिपोर्ट अनुसार चलचित्र ‘आ बाट आमा’ ले माघ २४ गते शनिबारसम्म कुल ४ करोड ८० लाख ९० हजार ४८७ रूपैयाँ ग्रस कलेक्सन गरेको छ ।
यस ९ दिनको अवधिमा देशभरका सिनेमा हलहरूबाट १ लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएका छन् । विशेषगरी सार्वजनिक बिदा र शनिबारको दिन चलचित्रको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ ।
यो चलचित्रले ‘वर्ड अफ माउथ’ (दर्शकको सकारात्मक प्रतिक्रिया) को राम्रो फाइदा उठाएको छ । चलचित्रले प्राप्त गरेको यो सफलताले नेपाली मौलिक र भावनात्मक कथावस्तुप्रति दर्शकको आकर्षण पुनः पुष्टि गरेको छ ।
अभिनेत्री विपना थापा र अभिनेता पल शाहको मुख्य भूमिका रहेको यस चलचित्रले हलमा दर्शकलाई निकै भावुक बनाएको प्रतिक्रिया प्राप्त भइरहेको छ । चलचित्र हेरेर निस्कने अधिकांश दर्शकहरू हलबाट आँखा रसाउँदै निस्किएका देखिन्छन् ।
चलचित्रका बारेमा दर्शकहरुबाट प्राप्त भएको सकारात्मक प्रतिक्रिया र सामाजिक सञ्जालमा दर्शक भावुक बनेका भिडियो क्लिपहरू भाइरल हुनुले पनि व्यापारमा ठूलो सहयोग पुर्याएको छ ।
सिनेमा घरहरूमा दर्शकको चाप कायम रहेकाले र अहिलेको व्यापारिक गति हेर्दा ‘आ बाट आमा’ले दोस्रो साताको अन्त्यसम्म ७ करोडको आँकडा छुन सक्ने प्रक्षेपण गरिएको छ ।
द्वन्द्व निर्देशकका रूपमा स्थापित चन्द्र पन्तको निर्देशनमा बनेको यो चलचित्र विशुद्ध पारिवारिक र भावनात्मक ड्रामा हो । चलचित्रले आमा र छोराबीचको अटुट सम्बन्ध, छोराका लागि आमाले गर्ने त्याग र त्यसभित्र लुकेका पीडालाई मर्मस्पर्शी ढंगले चित्रण गरेको छ ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा विपना र पलका अलावा भारतीय कलाकार प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रमा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन् ।
चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ ।




