‘कस्तुरी’को छायांकन सुरु, पहिलोपटक स्क्रिन सेयर गर्दै निखिल र वर्षा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘एक्सन स्टार’ निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने नयाँ चलचित्र ‘कस्तुरी’को औपचारिक निर्माण कार्य सुरु भएको छ ।

मंगलबार बिहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो ।

मन्दिरमा पूजाआजा र शुभ साइतको टिकासँगै निर्देशक ऋत बोहोराले आजैबाट चलचित्रको काम सुरु भएको जानकारी दिए । चलचित्रको छायांकन मुख्य रूपमा काठमाडौं उपत्यका र यसका आसपासका रमणीय तथा रणनीतिक स्थानहरूमा गरिने निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रको सबैभन्दा रोचक पक्ष भनेको अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको अनस्क्रिन जोडी हो । नेपाली चलचित्र क्षेत्रमा दुई फरक पुस्ता र फरक शैलीको प्रतिनिधित्व गर्ने यी दुई कलाकारले पहिलो पटक पर्दा सेयर गर्न लागेका हुन् ।

निर्देशक ऋत बोहोराले चलचित्रको कथावस्तुबारे बोल्दै यसले समाजका लुकेका रहस्य र अपराधका गहिरा पाटाहरूलाई उजागर गर्ने बताए ।

“हामीले एउटा उत्कृष्ट सस्पेन्स–थ्रिलर कथा पस्कने प्रयास गरेका छौँ,” निर्देशक बोहोराले भने, “यसमा रहस्य, थ्रिल र अपराधका यस्ता तहहरू छन् जसले दर्शकलाई फिल्मको अन्त्यसम्म बाँधिराख्नेछ ।”

‘कस्तुरी’मा निखिल र वर्षाका साथमा शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी, हेना नगरकोटी, अर्जुन गुरुङ, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमको अभिनय रहनेछ ।

टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको कथा स्वयं निर्देशक ऋत बोहोराले लेखेका हुन् ।

चलचित्रका प्रमुख लगानीकर्ता धिरज कुमार अग्रवाल हुन् भने अञ्जली चौधरी को–प्रोड्युसरका रूपमा रहेकी छिन् ।

आलोक शुक्ला छायाँकार रहेको चलचित्रका प्रमुख सह–निर्देशक ललित बिष्ट हुन् । चलचित्र प्रशान्त शिवाकोटीको संगीत रहने छ भने निर्माण व्यवस्थापनमा दिलीप पन्त छन् ।