‘कुमारी’ को अन्तर्राष्ट्रिय यात्रा सुरु, भोलिदेखि विभिन्न देशमा प्रदर्शन हुँदै

काठमाडौं । समीक्षक र दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल चलचित्र ‘कुमारी’ले अब आफ्नो अन्तर्राष्ट्रिय यात्रा तय गरेको छ ।

नेपालमा सफल प्रदर्शन भइरहेको यो चलचित्र भोलि, फेब्रुअरी १२ तारिखदेखि विश्वका विभिन्न प्रमुख देशहरूमा एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

विशेषगरी डायस्पोरामा रहेका नेपाली दर्शकहरू माझ यो चलचित्र त्यहाँको बक्स अफिसमै रिलिज हुने वितरकले जनाएका छन् । 

चलचित्रको अन्तर्राष्ट्रिय रिलिज अस्ट्रेलिया र मध्यपूर्वका देशहरूबाट सुरु हुन लागेको छ । वितरकहरूका अनुसार यी देशहरूमा चलचित्रको अग्रिम टिकट बुकिङ उत्साहजनक देखिएको छ ।

थ्री केजी इभेन्ट्स र असकास्ट नेपालको सहकार्यमा अस्ट्रेलिया वितरण हुन लागेको ‘कुमारी’ न्यू साउथ वेल्समा बरउड, हर्नस्बी, हस्र्टभिल र पारामान्टा, भिक्टोरियामा भिलेज सिनेमा सनसाइन र एयरपोर्ट वेस्ट, क्विन्सल्याण्डमा इभेन्ट सिनेमा चेर्मासाइड, एडिलेडमा इभेन्ट सिनेमा म्यारियन, तस्मानियामा भिलेज सिनेमा ग्लेनर्ची तथा पर्थमा इभेन्ट सिनेमा इनालुमा रिलिज हुनेछ । यो बाहेक अन्य सहरहरूमा पनि क्रमशः चलचित्र रिलिज हुनेछ ।

यस्तै, अस्ट्रेलियासँगै भोलिदेखि नै मध्यपूर्वका देशहरूमा पनि ‘कुमारी’ प्रदर्शन हुँदैछ । नेपफिल्मको व्यवस्थापनमा युएई, बहराइन र कतारका सबै प्रमुख सहरहरूमा चलचित्र रिलिज हुन लागेको हो ।

चलचित्रका निर्माता महेन्द्र अधिकारीले अस्ट्रेलिया र मध्यपूर्वको रिलिजसँगै अन्य देशहरूमा पनि दर्शकको माग उच्च रहेको बताएका छन् । उनले संयुक्त राज्य अमेरिका र क्यानडामा पनि चलचित्रको रिलिज छिट्टै हुने जानकारी दिए । अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो तथा क्यानडामा मेरो इभेन्ट्समार्फत चलचित्र प्रदर्शन हुनेछ ।

निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रले एक युवतीको जीवनमा आइपर्ने गम्भीर समस्या र त्यससँग जोडिएको भावनात्मक प्रेम कथालाई पर्दामा उतारेको छ । विकास सुवेदीको लेखन रहेको यस चलचित्रबाट अबिषेक खड्का र आकृति राजभण्डारीले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का र सनम श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

यस चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।