प्रिमियरमा ‘श्री बुकुरोः द होम कलिङ’लाई तारिफ नै तारिफ, कसले के भने ?
काठमाडौं । पारिवारिक सम्बन्ध र पुख्र्यौली घरको कथामा आधारित चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’ को विशेष प्रिमियर शो सम्पन्न भएको छ । आगामी फागुन १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको बुधबार काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा प्रिमियर गरिएको हो ।
प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । निर्देशक तुलसी घिमिरे, निर्माता छविराज ओझा, निर्देशक दीपकप्रसाद आचार्य, अभिनेता जयकिशन बस्नेत लगायत ‘श्री बुकुरोः द होम कलिङ’ हेर्न पुगेका थिए ।
चलचित्र हेरेपछि वरिष्ठ निर्देशक तुलसी घिमिरेले चलचित्रको खुलेर प्रशंसा गरे । उनले फिल्मलाई एउटा जीवन्त ‘पेन्टिङ’ को संज्ञा दिँदै भने, “फिल्म हेरिरहँदा यसले मलाई मेरो पुरानो घरमा पुर्यायो । लक्ष्मी जीको अभिनयले मलाई मेरी आमाको सम्झना दिलायो । यो केवल सिनेमा मात्र नभएर मानवीय संवेदनाको एउटा सुन्दर कला हो ।”
फिल्ममा मानवीय समवेदनाका स–साना पललाई रमाइलो तरिकाले प्रस्तुत गरेको भन्दै उनले सानोमा खोलामा खेल्ने फुपु र भदैको बुढेसकालमा भेट हुनु, लोभी मामाको क्यारेक्टरजस्ता विषयले मन छुने र यथार्थपरक बनाएको उनले उल्लेख गरे।
आवश्यकता अनुसार थप्पड लाउने र गाली पनि गर्ने आमालाई साथ दिने तिनैजना छोराहरूको भूमिका प्रशंसायोग्य रहेको उनको बुझाई थियो । यता, निर्माता तथा वितरक छविराज ओझाले पनि ‘श्री बुकुरो’को उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै, अभिनेता तथा निर्देशक जयकिशन बस्नेतले फिल्म हेर्दा कुनै उत्कृष्ट उपन्यास पढिरहेको जस्तो अनुभूति भएको बताए । उनले फिल्ममा हास्य र भावुकताको राम्रो मिश्रण रहेको उल्लेख गर्दै भने, “लक्ष्मी दिदीको अभिनय मनमा बस्ने खालको छ । उहाँले यमराजसँग कुरा गरेको र मुक्तिनाथको यात्राका दृश्यहरू निकै रमाइला छन् । समाजको यथार्थलाई फिल्मले राम्रोसँग चित्रण गरेको छ ।”
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाले आफ्नो थाकथलो र पुख्र्यौली घर (बुकुरो) लाई बचाउनुपर्छ भन्ने सन्देश दिएको छ । पारिवारिक सम्बन्ध, प्रेम जीवनमा चिना र भाग्यले निम्त्याउने अड्चन तथा समाजको चरित्रलाई फिल्मले मुख्य विषयवस्तु बनाएको छ ।
चलचित्रमा लक्ष्मी गिरी मुख्य भूमिकामा छिन् । उनीसँगै आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, लय संग्रौला, मोहन निरौला, राजन इशान, दीपिका थापा लगायतको अभिनय रहेको छ ।
रुबी सेन सिंहले लगानी गरेको सिनेमामा सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन्। सिनेमा मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको छ।



