फ्रेन्डस् सिनेमाको तेस्रो शाखा इलाममा, शुक्रबारबाट सञ्चालनमा
काठमाडौं । फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । धरान र बुटवलपछि फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा इलाममा विस्तार गरेको हो ।
इलाम नगरपालिका–७ मा आउँदो शुक्रबारबाट यो चलचित्र घर सञ्चालनमा आउनेछ । फ्रेन्डस् सिनेमाका डाइरेक्टर आशिस एच तामाङका अनुसार साढे तीन करोड लगानीमा चलचित्र घर तयार भएको हो ।
एउटा स्क्रिन रहेको यो चलचित्र घरमा १९० सिट क्षमता छ । चलचित्र विकास बोर्डले शुक्रबारबाट सञ्चालनको अनुमति दिइसकेको छ ।
“ठूला सहरमा मात्रै चलचित्र घर रहेको अवस्थामा हामीले गाउँगाउँमा पनि चलचित्र देखाउने र हेर्ने वातावरण बनाउँदै लैजानुपर्छ भनेर पहाडी जिल्ला इलाममा हल खोलेका हौँ,” तामाङले भने, “हामी सिनेमाको बजार विस्तार गर्नुपर्छ भन्छौँ, तर चलचित्र घर भने काठमाडौं र ठूलो सहरमा मात्रै केन्द्रित गर्छौं । बजार विस्तार गर्ने हो भने हरेक जिल्लामा सुविधासम्पन्न हल सञ्चालनमा आउनुपर्छ ।”
उनले सम्भव भएसम्म अन्य जिल्लामा पनि हल विस्तार गर्ने योजना रहेको बताए । नेपाली चलचित्रको बजार विस्तार गर्ने हो भने पहिला घरेलु बजार नै बढाउँदै लैजानु पर्ने उनको धारणा छ ।
अहिले पनि ठूला सहरमा बस्नेबाहेकका दर्शकलाई हलमा चलचित्र हेर्न वातावरण नरहेको भन्दै तामाङ जिल्ला–जिल्लामा सानासाना सिनेमा घर खोल्ने हो भने अहिलेकै अवस्थामा पनि घरेलु बजार दोब्बरभन्दा माथि बढ्ने बताउँछन् ।




