प्रीति कौरको स्वरमा ‘लालिमा’ को गीत सार्वजनिक
काठमाडौं । तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित चलचित्र ‘लालिमा’ को पहिलो गीत सार्वजनिक भएको छ ।
निर्माण पक्षले आइतबार ‘तिमीलाई माया गर्छु’ बोलको सार्वजनिक गरेको हो । यो गीतमा गायिका प्रीति कौरले स्वर दिएकी छन् ।
रोशन मिराज, केएम जोशी र गायिका कौरकै शब्द रहेको यस गीतमा संगीत जोशीको एरेन्ज, मिक्सिङ, मास्टरिङ छ ।
फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रको सार्वजनिक गीतको भिडियोमा चलचित्रका प्रमुख पात्र रोशनी कार्की र जीवन भट्टराई फिचर्ड छन् ।
चलचित्रको कथाबारे जानकारी दिन खोजेको निर्माण पक्षले गीतको भिडियोमा सिनेमाका दृश्यहरू समावेश गरेको छ । गीतका शब्दहरूले चलचित्रको मुख्य सारलाई प्रस्तुत गरेका छन् । विशेषगरी प्रेम, विछोड र जीवनको कठिन यात्रालाई सङ्गीतको माध्यमबाट न्याय दिने प्रयास गरिएको छ ।
भिडियोमा रोशनी र जीवनको द्वन्द्व-रोमान्स देख्न सकिन्छ । जसमा रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको देखिन्छ ।
रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा रोशनी र जीवनसहित उषा रजक, शिशिर वाङ्देल, सबिन कट्टेल, घनश्याम जोशी, सुष्मा निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रले एक यौनकर्मी युवती (लालिमा) को जीवनको भोगाइ, सामाजिक तिरस्कार र जेलमा रहेकी आफ्नी लाटी आमालाई मुक्त गराउन उनले गर्ने संघर्षको कथा भन्छ ।
फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता रीना लामा हुन् ।



