फागुन १ मा रिलिज भएका तीनै चलचित्रले गरे प्रदर्शन स्थगितको घोषणा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा यतिबेला एउटा उखान चरितार्थ भएको छ, ‘बाघ आए पनि वन, झाँक्री आए पनि वन ।’ तर यहाँ बाघ वा वनझाँक्री नभई ‘निर्वाचन’को बढ्दो रापले चलचित्रका निर्मातालाई तर्साएको छ ।

आसन्न निर्वाचनको माहोलका कारण दर्शकको ध्यान पूर्णतः राजनीतिमा केन्द्रित हुने देखेपछि एकैदिन प्रदर्शन भइरहेका तीन चलचित्रले एकैसाथ प्रदर्शन रोकेका छन् ।

चुनावी माहौलका कारण दर्शकको रुचि राजनीतिमा केन्द्रित हुने भन्दै फागुन १ गतेबाट प्रदर्शनमा आएका तीनवटा नेपाली सिनेमाले एकैसाथ प्रदर्शन स्थगित गरेको घोषणा गरेका हुन् ।

अहिलेको अवस्थालाई हेर्दा अधिकांश चलचित्र निर्माताहरू चुनावी लहरबाट जोगिन ‘सेफ साइड’ खोजिरहेको प्रष्ट देखिन्छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’का निर्माताले बुधबारदेखि नै चलचित्रको प्रदर्शन बीचमै रोक्ने निर्णय लिएका हुन् । चल्दाचल्दैका चलचित्रहरू चुनाव पछाडि मात्र प्रदर्शन गर्ने गरी हलबाट उतारिएका छन् ।

यी तीनवटै सिनेमाका निर्माताले आम मानिसको ध्यान चुनावतिरै मोडिएका कारण जोखिम मोल्नुभन्दा ‘ब्याक’ हट्नु नै उपयुक्त ठानेका छन् । प्रचार–प्रसारमा चुनावी चर्चाका अगाडि चलचित्रको चर्चा ओझेलमा परेको र हलसम्म दर्शक आउने सम्भावना न्यून रहेकाले निर्माताहरूले ‘रणनीतिक पलायन’को बाटो रोजेका हुन् ।

वितरण कम्पनी नेसनल सिने ग्रुप नेपालका अनुसार फागुन १ देखि प्रदर्शनमा आएको ‘श्री बुकुरो’ आगामी फागुन ६ गतेदेखि देशभरका हलबाट स्थगित हुनेछ ।

कम्पनीले चलचित्रको नयाँ प्रदर्शन मिति समेत सार्वजनिक गरिसकेको छ । अब यो चलचित्र आगामी १८ वैशाख देखि पुनः प्रदर्शनमा आउनेछ । चुनावी माहोलमा चलचित्रले पाउनुपर्ने जति दर्शक नपाउने र प्राविधिक कठिनाइ हुने देखिएपछि यस्तो निर्णय लिइएको वितरकको भनाइ छ ।

यसैगरी, चलचित्र ‘बिगुल’ को प्रदर्शन पनि बुधबारदेखि रोकिएको छ । निर्माण कम्पनी एमजीपी लिमिटेडले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना नआउँदासम्मका लागि प्रदर्शन स्थगित गरिएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखी सम्बन्धित निकायहरूको सुझाव तथा परिस्थितिको मूल्यांकनपश्चात यो निर्णय लिइएको हो ।”

रमेश कोइरालाको निर्देशनमा तयार भएको यस चलचित्रको नयाँ मिति भने चुनावी परिणाम र माहोल शान्त भएपछि मात्र तय गरिने निर्माण पक्षले जनाएको छ ।

फागुन १ मा रिलिज भएको अर्को चलचित्र ‘शिवांश’ ले पनि चुनावी माहोलका कारण प्रदर्शनलाई निरन्तरता दिन नसकिने भन्दै रोक्ने निर्णय गरेको छ । यो चलचित्रले पनि चुनाव पछाडि मात्र नयाँ मिति तोक्ने निर्णय गरेको छ ।

यी चलचित्रहरूले चुनावी लहर सकिएपछि फेरि नयाँ ऊर्जाका साथ हलमा फर्किने तयारी गरेका छन् । तर, बीचैमा फिल्म रोकिँदा यसले चलचित्रको प्रचारप्रसार र ‘वर्ड अफ माउथ’ मा कस्तो असर पार्छ भन्ने कुरा छ । लगानी डुब्ने डरले निर्माताहरूले चुनावी माहोल छल्न खोज्नुलाई चलचित्र वृत्तमा ‘सावधानी’ का रूपमा हेरिएको छ ।

“जतिसुकै राम्रो फिल्म भए पनि अहिलेको माहौलमा दर्शक हलसम्म आउने मुडमा छैनन्,” एक वितरकले भने, “लगानी जोगाउन फिल्म रोक्नु निर्माताहरूको बाध्यता हो ।”

अहिलेलाई हलहरू सुनसान बने पनि निर्वाचन पछिको ‘भ्याकुम’ मा यी चलचित्रले कस्तो व्यवसाय गर्ने हुन्, त्यो भने हेर्न बाँकी नै छ । तर, चल्दाचल्दैको चलचित्र रोक्नुले फिल्मको हाइप (चर्चा)मा कस्तो असर पार्छ भन्ने चिन्ता पनि उत्तिकै छ ।